काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार (नेशनल आइसिटी अवार्ड) का लागि आवेदन खुला गरेको छ । मन्त्रालयले आइतबार एक सूचना प्रकाशित गर्दै विभिन्न ८ विधामा आवेदन खुला भएको जनाएको हो ।
नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनका लागि नेपाल सरकारले हरेक वर्ष मे २ तारिखलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको रूपमा मनाउँदै आइरहेको छ ।
उक्त दिवसको उपलक्ष्यमा नेपालको सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा विशेष योगदान पुऱ्याउने व्यक्ति तथा सङ्घरसंस्थाहरू मध्येबाट सर्वोत्कृष्टलाई तपसिलका विधाहरूमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘राष्ट्रिय सूचना तथा सञ्वार प्रविधि पुरस्कार २०२५’ प्रदान गर्न लागेको हो ।
यस वर्ष सरकारले नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२५, नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२५ (वुमन), नेशनल आइसिटी अवार्ड २०२५ (पब्लिक सेक्टर), नेसनल आइसिटी अवार्ड २०२५ (प्राइभेट सेक्टर), नेसनल आईसिटी अवार्ड २०२५ (पब्लिक सेक्टर – प्रोभिन्सियलरलोकल), नेसनल आईसिटी अवार्ड २०२५ (प्राइभेट सेक्टर – प्रोभिन्सियलरलोकल), नेसनल आइसिटी इनोभेसन अवार्ड २०२५ र नेसनल आईसिटी स्टार्टअप अवार्ड २०२५ विधामा अवार्ड प्रदान गर्नेछ ।
इच्छुक सार्वजनिक संस्थारकार्यालयरकम्पनी तथा व्यक्तिहरूले आवेदन दिन सक्ने छन् । आवेदकले भर्नुपर्ने फारामको ढाँचा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइट www.mocit.gov.np र सूचना प्रविधि विभागको वेबसाइट www.doit.gov.np मा उपलब्ध रहेको छ ।
उक्त आवेदन फाराम भरी २०८२ साल वैशाख ७ गते बेलुका ५ बजेभित्र ictaward@mocit.gov.np इमेलमा पठाउन वा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना प्रविधि महाशाखामा दर्ता गराइसक्नुपर्नेछ ।

