काठमाडौँ । अटो व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) औपचारिक रुपमै फुटेको पाइएको छ । अटो व्यवसायी छुटिएर नयाँ संस्था गठन भएको चर्चाकाबीच आइतबार नाडाले औपचारिक रुपमै उक्त कुराको पुष्टि गरेको हो ।
आइतबार नाडाले एक विज्ञप्ती जारी गर्दै नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्राक्चरर्स एशोसिएसन (नाईमा) मोबिलिटी सशक्तीकरणको वकालतका लागि गठन गरिएको संस्था भएको दाबी गरेको हो ।
अटो क्षेत्रमा नाडा हुँदा हुँदै पनि अर्को संस्था स्थापना भई घोषणाको संघारमा पुगेको बेला दुवैै संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै अटो क्षेत्रको विकासमा एक भएर लाग्ने सन्देश दिएका छन् । नाडाका अध्यक्ष करण चौधरी र नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यले सवारी साधन क्षेत्रको समग्र विकासप्रति प्रतिबद्ध रहेको बताएका हुन् ।
विज्ञप्ती मार्फत दुवै संस्थाले आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहँदै स्वतन्त्र रूपमा आफ्नो प्रयासहरू जारी राख्नेछ।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल अटोमोबाइल उद्योगलाई समर्थन गर्ने र राष्ट्र विकासमा योगदान पुर्याउने दृष्टिकोणले स्थापना गरिएको संस्था हो। नाडाले नेपालको अटोमोबाइल नीतिहरू निर्माण गर्न तथा उद्योगसँग सम्बन्धित चुनौतीहरू समाधान गर्न महत्वपूर्ण भूमिका खेलेको छ। नयाँ गठन भएको नेपाल अटोमोबाइल इम्पोटर्स तथा म्यानुफ्याक्चरर्स संघ (नाइमा) भनेको मोबिलिटी सशक्तीकरणको वकालतका लागि गठन गरिएको संस्था हो।
जसमा नेपालका अटोमोबाइल आयातकर्ता र निर्माताहरुको प्रतिनिधित्व गर्छ। दुवै संस्था अटोमोबाइल व्यवसायमा प्रत्यक्ष संलग्न भएकाले केही सदस्य कम्पनीहरू दुवै संघको सदस्य बन्ने छनौट गर्न सक्छन्।
नाइमाले अटोमोबाइल उद्योगको विशेष क्षेत्रमा प्रतिनिधित्व गर्ने भए तापनि यसको कार्यक्षेत्र उद्योग र सरोकारवालाहरुको सशक्तिकरण, विकास तथा समृद्धिमा केन्द्रित रहनेछ। यस संस्थाले वातावरणमैत्री अभ्यास, उपभोक्ता शिक्षाको प्रवर्द्धन, सडक सुरक्षा तथा पूर्वाधार सुधारको आवश्यकतालाई सम्बोधन गर्दै सरकारसँग मिलेर यी उद्देश्यहरू पूरा गर्न काम गर्नेछ।
‘हालै नाइमाको स्थापनासँग सम्बन्धित छलफल तथा समाचारहरूबाट नाडाको भूमिकालाई लिएर केही भ्रमहरू उत्पन्न भएका छन्। हामी स्पष्ट पार्न चाहन्छौँ कि नाडा र नाइमा दुवै संस्थाको स्वतन्त्र सहअस्तित्वले नेपालमा अटोमोबाइल उद्योगलाई सशक्त बनाउनेछ भन्ने कुरामा दुवै संस्थाले विश्वास गर्छन्,’ संयुक्त वक्तव्यमा भनिएको छ।
नेपालको अटोमोबाइल क्षेत्र दिगोपन, नवप्रवर्तन र नीतिगत स्थिरतातर्फ अग्रसर हुँदै गर्दा नाडा र नाइमा दुवै संस्थाहरू व्यवसायीहरूको हक र हितको संरक्षण, उद्योगमैत्री नीति निर्माणमा सहकार्य, तथा समग्र क्षेत्रको प्रगतिमा पूर्णरूपमा प्रतिबद्ध छन्।

