काठमाडौं । विद्युतीय सवारीसाधनको क्रेज तीव्र रुपमा बढिरहेको भए पनि यसको दीर्घकालीन भविष्य अझै अन्योलमै देखिएको छ। नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार बैंकहरूले हालसम्म
इभी क्षेत्रमा एक खर्ब १३ अर्ब रुपैयाँभन्दा बढीको ऋण प्रवाह गरिसकेका छन्, तर लगानीको प्रतिफल र जोखिमका विषयमा गम्भीर चिन्ता बढिरहेको छ।
“नीति अनुसार ऋण दिइरहेका छौं, तर आगामी ५–१० वर्षमा यसको अवस्था के हुन्छ भन्ने ग्यारेन्टी छैन,” अध्यक्ष कोइरालाले भने उनले सरकारसँग गुणस्तरीय सवारीसाधनको मापदण्ड स्पष्ट गर्न आग्रह समेत गरे।
यता, पूर्वाधार अभाव, चार्जिङ स्टेशनको सीमितता, र मर्मतसम्भार जनशक्तिको कमीले यस क्षेत्रमा लगानीकर्ताको भरोसा डगमगाइरहेको विज्ञहरू बताउँछन्।
काठमाडौं विश्वविद्यालयका प्राध्यापक भीमप्रसाद श्रेष्ठले भने, “सरकारले नीति बनाउने तर कार्यान्वयनमा ढिलाइ गर्ने प्रवृत्तिले निजी क्षेत्र निरुत्साहित भएको छ।”
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले समेत इभी नीति दीर्घकालीन हुनुपर्नेमा जोड दिए पनि अहिलेसम्म स्पष्ट रणनीति नभएको बताए ।

