काठमाडौं । विश्व प्रसिद्ध विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले साउदी अरेबियामा औपचारिक रूपमा कार बिक्री सुरु गरेको छ। बिहीबारदेखि कम्पनीले साउदी बजारमा आफ्नो उपस्थिति जनाउँदै, राजधानी रियादमा पहिलो डिलरशिप सुरु गरेको हो।
तर टेस्लाको सुरुआत सजिलो हुने देखिँदैन। रियाददेखि मक्का जोड्ने ९०० किलोमिटर लामो राजमार्गमा एउटा पनि चार्जिङ स्टेशन छैन। सन् २०२४ सम्म साउदीभर जम्मा १०१ वटा मात्र ईभी चार्जिङ स्टेशन छन्, जसले लामो दूरीका यात्रालाई चुनौतीपूर्ण बनाउँछ।
साउदीको गर्मी अर्को ठूलो समस्या हो। यहाँको तापक्रम कहिलेकाहीँ ५० डिग्री सेल्सियस पुग्ने भएकाले विद्युतीय गाडीको ब्याट्री छिटो सकिने सम्भावना बढी हुन्छ।
टेस्लाका प्रतिस्पर्धी चिनियाँ कम्पनी बीवाईडी (BYD) ले यसअघि नै साउदी बजारमा पाइला टेकेको छ। बीवाईडीले मे २०२४ मै रियादमा आफ्नो शोरुम स्थापना गरिसकेको थियो। कम्पनीले यहाँ हाइब्रिड कारहरूमा बढी ध्यान दिँदै आएको छ, जसले चार्जिङ समस्याबाट राहत दिन सक्छ।
विश्लेषकहरूका अनुसार टेस्लाको ढिलो डेब्यूको एक कारण एलन मस्क र साउदीको पब्लिक इन्भेस्टमेन्ट फण्ड (PIF) बीचको पुरानो विवाद हो। तर अहिले साउदी र अमेरिकी राजनीतिक सम्बन्धमा नयाँ मोड आएसँगै टेस्लाका लागि अवसरको ढोका खुलेको बताइएको छ।
साउदी सरकारले सन् २०३० सम्म विद्युतीय सवारीको ३० प्रतिशत अपनत्व पुर्याउने लक्ष्य लिएको छ। त्यसका लागि चार्जिङ स्टेशन संख्या ५ हजार पुर्याउने योजना बनाइएको छ।

