काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।
राज्यमन्त्री तामाङले बिहीबार एक पत्र लेख्दै सचिवलाई स्पष्टीकरण सोधेका हुन् । आफू मातहतको विभागले गरेको कार्यक्रममा पदीय आचरण विपरीतको कार्य गरेको भन्दै राज्यमन्त्री तामाङले सचिव आचार्यलाई स्पष्टीकरण सोधिएको पत्रमा उल्लेख छ ।
यस्तो छ कारण
जलस्रोत तथा सिंचाइ विभाग जावलाखेलले यही चैत २५ गते सिंचाइ दिवस एवं ७२ औं वार्षिकोत्त्सव कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा मन्त्री दीपक खड्का अनुपस्थित भएकाले राज्यमन्त्री तामाङ प्रमुख अतिथिको रुपमा सहभागी थिए ।
कार्यक्रम सञ्चालकले आसनग्रहणको क्रममा बोलाउँदा सचिव आचार्य मञ्चमा सहभागी नभई बाहिरिएका थिए । साथै विभागका महानिर्देशक सन्जिब बरालले पनि आसनग्रहणका लागि आग्रह गर्दा पनि सचिव आचार्यले मानेनन् ।

