काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ९ महिनाको अवधिमा काठमाडौं महानगरपालिकाले आम्दानी ७ अर्ब १६ करोड ९३ लाख रुपैयाँ गरेको छ। गत वर्षको सोही अवधिमा महानगरले ६ अर्ब ५६ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको थियो। यो वर्षको आम्दानी गत वर्षको तुलनामा ९.२० % बढी हो।
महानगरले तीन मुख्य शीर्षक आन्तरिक राजश्व, बाँडफाँडबाट प्राप्त राजश्व, र आन्तरिक अनुदान मार्फत आम्दानी गर्दै आएको छ। आन्तरिक राजश्व शीर्षकमा ४ अर्ब २५ करोड ६७ लाख रुपैयाँ संकलन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३.९९ % बढी हो। बाँडफाँडबाट प्राप्त राजश्व ५६.९० % बढेर उल्लेखनीय वृद्धि भएको छ। अर्कोतर्फ, आन्तरिक अनुदान भने ७.८७% घटेको छ।
घरबहाल करबाट सबैभन्दा बढी २ अर्ब ९ करोड रुपैयाँ आम्दानी भएको छ। सम्पत्ति कर, घरजग्गा रजिस्ट्रेसन दस्तुर, र पर्यटन शुल्कबाट पनि आम्दानीमा सकारात्मक वृद्धि देखिएको छ। विशेषगरी घरजग्गा रजिस्ट्रेसन दस्तुरबाट आम्दानी १३६.६३ % बढेको छ।
यद्यपि, केही शीर्षकहरूमा आम्दानीमा गिरावट आएको छ। अन्य प्रशासनिक सेवा शुल्क ८६.५७% घटेको छ भने नक्सापास दस्तुर, नाता प्रमाणित दस्तुर, र पार्किङ शुल्कजस्ता शीर्षकहरूमा पनि कमी देखिएको छ।
महानगरले चालू वर्षमा १२ अर्ब ९० करोड रुपैयाँ आम्दानीको लक्ष्य लिएको छ।

