२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • भ्रष्टाचार गरेको भन्दै निलम्बि मेयर सहित...

भ्रष्टाचार गरेको भन्दै निलम्बि मेयर सहित ६ जना विरुद्ध वन मुद्दा

भ्रष्टाचार गरेको भन्दै निलम्बि मेयर सहित ६ जना विरुद्ध वन मुद्दा

बिहिवार, बैशाख ११ २०८२०३:४९
बिहिवार, बैशाख ११ २०८२०३:४९
  • images

    काठमाडौँ । भ्रष्टाचार मुद्दामा निलम्बित मेयर, उपमेयरदेखि ६ जना विरुद्ध वन मुद्दा दर्ता भएको छ । 

    वन तथा वातावरण मन्त्रालयले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित प्रमुख भरत थापा र उपप्रमुख लिला कुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, नगरपालिकाका इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध सर्लाही जिल्ला अदालतमा बिहीबार मुद्दा दर्ता गरेको हो । 

    मुद्दाको दर्ता नम्बर ०८१-सी २-०००१ रहेको छ । वन अतिक्रमण, ताल निर्माण, ढुंगा गिट्टी, बालुवा, माटो उत्खनन् गरि हानिनोक्सानी गरेको भन्दै उनीहरूविरुद्ध सरकारले मुद्दा दायर गरेको हो । 

    सागरनाथ वन विकास परियोजनाको जग्गा अतिक्रमण गरी सर्लाहीको बागमती नगरपालिकामा निर्माण गरिएको भरत ताल तथा त्यस वरपरका संरचनालाई केन्द्रित गरेर डिभिजन वन कार्यालय सर्लाहीले अनुसन्धान अगाडि बढाएको थियो । डिभिजन वन कार्यालय सर्लाहीले वन ऐन,२०७६  अन्तर्गत अनुसन्धान अगाडि बढाएपछि नगरपालिकाका जनप्रतिनिधिहरूको भागाभाग भएको थियो । 

    सागरनाथ वन विकास परियोजनाको १७३ हेक्टर क्षेत्रफलमा बनाइएको भरत ताल, त्यस वरपरका क्षेत्रमा बनाइएको संरचना, वन क्षेत्रमा काटिएको रुख, भएको हानी नोक्सानीमा उनीहरूको संलग्न देखिएपछि अदालतमा मुद्दा दायर गरिएको हो । 

    उनीहरूविरुद्ध पाँच वर्षसम्म कैद वा एक लाख रूपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न मागदाबी गरिएको छ । 

    २०७४ सालमा बागमती नगरपालिकामा निर्वाचित भएका नगर प्रमुख भरत थापाले नगरपालिकाको नगरसभा तथा कार्यपालिकाबाट निर्णय गराएर सागरनाथ वन विकास परियोजनाको वन क्षेत्रको जग्गामा भरत ताल निर्माण गराएका थिए । सागरनाथ विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी, परियोजनाको बिनाकुनै स्वीकृति त्यस क्षेत्रको ढुंगा, गिट्टी, बालुवा उत्खनन् गरी माछा पोखरी खन्ने भनेर बनाएको परियोजनालाई पछि नगर प्रमुखकै नामबाट भरत ताल नामाकरण गरिएको थियो । 

    अहिले त्यहाँ निर्माण भएको भरत ताल पर्यटकहरूको आकर्षकको केन्द्र बनेपनि तत्कालीन नगरप्रमुख भरत थापाले कानूनमा भएको प्रावधानलाई लत्याएकै परिणामस्वरूप वन मुद्दा लगाउने अवस्था आइपुगेको अधिकारीहरू बताउँछन् । 

    बागमती माछापोखरी प्रथम (भरत ताल) निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिट्टी, बालुवालगायत नदीजन्य पदार्थ बिक्रीमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुख भरतकुमार थापासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नै दायर गरिसकेको छ । मुद्दा दायरपछि उनी निलम्बनमा छन् । 

    निलम्बित नगरप्रमुख थापाविरुद्ध यसअघि गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा पनि आयोगले २०८० चैत २८ गते ५ करोड ३३ लाख ५३ हजार १८९ रूपैयाँ बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend