काठमाडौं । सांग्रीला डेभलपमेन्ट एसोसियसन स्थापनाको १०औं वर्ष पूरा भएको छ । १० वर्ष पूरा भएको अवसरमा संस्थाले शनिबार ‘१० वर्षको प्रभाव: सामुदायिक विकास, आपतकालीन राहत, र मानवीय सेवाको एक दशक’ कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका सल्लाहकार एवं पूर्वअध्यक्ष जयशंकर उपाध्ययको अध्यक्षतामा भएको कार्यक्रममा कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र समाज कल्याण परिषद्का विभागीय प्रमुख दीपेन्द्र पन्तको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि अध्यक्ष मुक्तानले भौगोलिक रूपमा पछाडि परेको कैलाश गाउँपालिकामा एसोसियसनले गरेको कामको प्रशंसा गरे ।
उनले विकटता, जनजाति, सीमान्तकृत वर्ग, बसोबास र भौगोलिक सिमान्त, गरिब, विपन्न वर्गमा संस्थाले स्वास्थ्य, शिक्षा, कृषि क्षेत्र लगायतका क्षेत्रमा काम गरेर महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
कार्यक्रममा विशिष्ट अतिथि तथा समाज कल्याण परिषद्का विभागीय प्रमुख पन्तले एसोसियसनले सुशासन पालना गर्दै स्थानीय सरकारसँग समन्वय गरेर काम गरेको भन्दै धन्यवाद व्यक्त गरे ।
संस्थाले दीगोपनाको नमुनाका रूपमा काम गरेको र अबका दशकमा अझै सुदृढ ढंगले काम गर्न उनले सुझाव दिए । पन्तले आगामी दिनमा आफ्नो संस्थाले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा साझेदार संस्था सांग्रीला एसोसियसन स्वीट्जरल्याण्डका पूर्वअध्यक्ष रोबर्टो प्रेसाले एसोसियसनले नेपालको ग्रामीण क्षेत्रमा राम्रो काम गर्दै आएको भन्दै यसले आफूलाई गौरभान्वित बनाएको बताए । पूर्वअध्यक्ष प्रेसाले आगामी दिनमा चुनौतीहरूलाई पार गर्दै थप उर्जाशिल भएर काम गर्न सुझाव दिए ।
कार्यक्रममा सांग्रीला अर्फनेज होमकी अध्यक्ष यमुना मरासिनीले एसोसियसनले चेपाङ, अतिविपन्न वर्गका लागि शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रका माध्यमबाट जीवनस्तर उकास्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइन् ।
उनले एसोसियसन एक दशकको कार्यअवधिमा पूर्ण रूपमा सफल भएको बताउँदै आगामी दिनमा उत्कृष्ट काम गर्दै अति भन्दा अति विपन्न वर्गका समुदायको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्न आग्रह गरिन् ।
कार्यक्रमका अध्यक्ष एवं संस्थाका सल्लाहकार जयशंकर उपाध्ययले अथक प्रयास र मेहनतका कारण संस्था हालसम्म आइपुगेको बताए ।
संस्थाका सचिव दशरथ घिमिरेले स्वागत मन्तव्य राख्दै अबका दशकमा थप सक्रिय भएर लाग्ने बताए । उनले संस्थालाई भावी पुस्ताका लागि प्रेरणाको स्रोतको रुपमा विकास गर्ने प्रतिबद्धता पनि जनाए ।
यस्तै संस्थाका कार्यक्रम संयोजक सागर थापाले संस्थाले भूकम्पका समयमा राहत, पूनर्निर्माणका साथै बर्थिङ सेन्टर निर्माण लगायत स्वास्थ्य, कृषि र शिक्षा क्षेत्रमा काम गर्दै आएकाले यो एक दशकमा महत्वपूर्ण काम भएको बताए । त्यसअवसरमा संस्थाका कर्मचारी, विभिन्न साझेदार संस्थालाई सम्मान गरिएको थियो ।
२०७१ सालमा स्थापना भएको यो संस्था मकवानपुरको कैलाश गाउँपालिका वडा नं ३, ४, ७, र ८ मा विशेषतः चेपाङ समुदाय तथा अन्य पिछडिएका र सिमान्तकृत वर्गका लागि शिक्षा, स्वास्थ्य, तथा कृषिको क्षेत्रमा एवम् चन्दनाथ नगरपालिका जुम्लास्थित कर्णाली माध्यामिक विद्यालयको सहकार्यमा बहिरा बालबालिकाको शिक्षाको क्षेत्रमा विभिन्न परियोजनामार्फत काम गर्दै आएको छ ।
संस्थाले २०७२ को महाभूकम्प र कोभिड–१९ जस्ता महामारीको मानवीय संकटमा दीर्घकालीन प्रयासहरूमा केन्द्रित भइ व्यापक आपतकालीन राहत साथै पुनःनिर्माण परियोजनाहरुमार्फत काम गर्दै आएको छ । हाल संस्थाले दुबै कार्यक्षेत्रमा ‘सांग्रीला सस्टेनेवल, लोकल इनिशिएटिभ’को छैठौं संस्करण कार्यन्वयन गर्दै आएको छ ।
संस्थाले शिक्षा, स्वास्थ्य, र कृषिको क्षेत्रमा परियोजनाहरुकोमार्फत सामुदायिक विकासका लागि विभिन्न कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ ।

