काठमाडौँ । बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाका मेयर किशोरी साह कलवारमाथि प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाललाई कुटपिट गरेको आरोप लागेको छ ।
मेयर साहले प्रमुख प्रशासकीय अधिकृतलाई निजी निवासमा बोलाएर दुर्व्यवहार गरेको अधिकृत जयसवालले बताए । उनले मौखिक आदेशको भरमा कानुनविपरीत रकम भुक्तानी गर्न नमानेपछि मेयर कलवार र उनका समर्थकले हातपात गरेको पीडित अधिकृत जैसवालले आरोप लगाएका हुन् ।
घटना गत वैशाख १६ गतेको हो । कुटपिटको विषय लिएर प्रशासकीय अधिकृत जयसवालले जिल्ला प्रशासन कार्यालय, र जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दर्ता गराएका छन्।
सो घटनाको विरोधमा सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरू आन्दोलित भएका छन्। कर्मचारीहरूले नगरपालिकाको सम्पूर्ण सेवा ठप्प पारेका छन्। आन्दोलित कर्मचारीहरूले दोषीलाई कारबाही नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
गत वैशाख १६ गते बिहान १० बजे मेयर कलवार र सिम्रौनगढ समारोहकी अगुवा ममता शर्माले पटक(पटक फोन गरेर सरसल्लाह गर्न भन्दै आफूलाई मेयरको निवासमा बोलाएको जैसवालको भनाई छ । मेयरसँग छलफल गर्न उनको घरमा जाँदा शर्माको १० लाख लगायत ७१ लाख रुपैयाँको भुक्तानी गर्न मेयर कलवारले पुनः दबाब दिएको उनको आरोप छ।
सिम्रौनगढ नगरपालिकाकी उपमेयर नजमुसेहरले पनि मेयर कलवारको नगरपालिका सञ्चालन गर्ने मनसाय नै नरहेको आरोप लगाएकी छिन्। उनले मेयर कलवारले भ्रष्टाचार गर्न नगरका कर्मचारीलाई आफ्नो घरायसी नोकरको जस्तो व्यवहार गर्ने गरेको बताइन्।
यस विषयमा मेयर किशोरी प्रसाद कलवारसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन्।

