काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोली दैलेखको भगवतीमाई गाउँपालिका पुगेको छ । उक्त टोली बेस्तडा पुग्दा पालिकाले विशेष स्वागत समेत गर्याे ।
सो अवसरमा कार्यसम्पादनको आधारमा देशभरका ७५३ स्थानीय तहमध्ये उत्कृष्ट ६ पालिकामा स्थान बनाउन सफल भएकोमा माओवादी केन्द्रले गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापा र उपाध्यक्ष मिना थापालाई सम्मान गरेको छ । अध्यक्ष थापा माओवादी केन्द्रबाट निर्वाचित हुन भने उपाध्यक्ष थापा नेपाली कांग्रेसबाट निर्वाचित हुन ।
त्यसैगरी, कर्मचारीतर्फ नायब सुब्बा ९नासु० प्रेम बहादुर खड्कालाई समेत पालिकामा उल्लेखनीय कार्यसम्पादन गरेबापत सम्मान गरिएको छ।
अध्यक्ष प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै मध्यपहाडी लोकमार्ग अभियानको उद्देश्य, यसको राष्ट्रिय महत्व, र अभियानको क्रममा देशभर प्राप्त भएको जनसमर्थन र सम्मानबारे प्रकाश पारेका थिए ।“यो अभियान अब केवल एउटा पार्टीको मात्र नभई, राष्ट्रकै साझा अभियान बनिसकेको छ। जनस्तरबाट प्राप्त सकारात्मक प्रतिक्रियाले अभियानलाई राष्ट्रिय स्वरूप दिएको छ,” उनले भने ।
उक्त अवसरमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी, नागरिक समाज तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

