काठमाडौं । बाबुराम भट्टराईसँग फुटेर बनेको नेपाल समाजवादी पार्टी(नेसपा) पनि फुटेको छ । माओवादी केन्द्रसँग एकता गर्ने वा नगर्ने विषयमा पार्टी भित्र विवाद चर्किएपछि सह–अध्यक्ष गङ्गानारायण श्रेष्ठ समूहले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएको छ । पार्टी एकता गर्ने पूर्वसहमतिबाट अध्यक्ष महिन्द्र राय यादव पछि हटेपछि श्रेष्ठ समूह माओवादीमा समाहित हुन लागेको हो ।
यसबारे निर्णय लिन श्रेष्ठ समूह लगायत माओवादी पृष्ठभूमिका नेताहरूले जेठ ११ गते विस्तारित बैठक बोलाएका हुन् । केन्द्रीय समितिको बहुमतले पार्टी एकताको निर्णय गर्ने र सिंगो पार्टी माओवादी केन्द्रसँग एकतामा जाने उनले बताएका छन् ।
श्रेष्ठका अनुसार दुई पार्टीबिच जेठ १२ गते एकता घोषणा गर्ने तय भएको छ । पूर्व–पश्चिम मध्यपहाडी मार्ग केन्द्रित अभियान अन्तर्गत जेठ १० गतेसम्मको कार्यक्रम सम्पन्न गरेर माओवादी टोली जेठ ११ गते काठमाडौं फर्केपछि एकता हुनेछ ।
२०८० साल चैत ३ गते यादव सहितको समूहले माओवादीसँग पार्टी एकता गर्ने सहमति गरेको थियो । तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोष्टमा रहेको माओवादी हटाउन सहमत नभएकाले तत्काल एकता प्रक्रियामा सहमत हुन नसक्ने महासचिव रमेशप्रसाद यादवले बताएका छन् ।
यसअघि यादव समूहले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेसपाको नाममा बोलाइएको केन्द्रीय समिति बैठक आधिकारिक नभएको जिकिर गरेको छ । साथै माओवादीसँग रुपान्तरणसहित एकता गर्न दृढ रहेको विज्ञप्तिमा उल्लेख छ ।

