काठमाडौं। काठमाडौंका तीन वटा क्षेत्रबाहेक सबै स्थानमा निषेधाज्ञा जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गर्दै कोटेश्वर, बल्खु र चाबहिलको सिफल चौरमा मात्रै कार्यक्रम/प्रदर्शन गर्ने अनुमति दिएको हो।
बाँकी सबै स्थानमा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए। काठमाडौं जिल्लाको चक्रपथ र चक्रपथ भित्रका सार्वजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभालगायतका विरोधका कार्यक्रमहरू आयोजना गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भएको भन्ने जनगुनासो समेतलाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम तीन क्षेत्रबाहेकका स्थानमा निषेधाज्ञा जारी गरिएको काठमाडौं प्रशासनले जनाएको छ।

