काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (बुधबार) देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
बिहान ६ बजे जारी गरिएको विभागको संक्षिप्त बुलेटिन अनुसार, आज दिउँसो र राति कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, यी प्रदेशका एक९दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
विभागका अनुसार, देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का वर्षा वा हिमपात पनि हुन सक्नेछ।
आज रातिसमेत कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा व्यापक वर्षा हुने संकेत छ। यी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने जनाइएको छ।
हाल मनसुन कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रसम्म फैलिएको छ। बाँकी प्रदेशमा भने अझै पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको विभागले जनाएको छ।
विभागले बाढी, पहिरो र सवारी–साधन आवागमनमा अवरोधको सम्भावना रहेकोले प्रभावित क्षेत्रमा रहेका नागरिक, किसान, यात्री, ट्राफिक व्यवस्था र स्थानीय निकायलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

