काठमाडौं । मधेश प्रदेश प्रेस काउन्सिलका अध्यक्ष कमलकुमार उपाध्याय भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । उपाध्यायलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले ६ महिना कैद र १ लाख १७ हजार ५२० रुपैयाँ जरिवानाको सजाय सुनाएको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले उपाध्यायसहित बाराका पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादवलाई पनि सोही सजाय सुनाएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ वैशाखमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्दै उपाध्याय, यादव र लेखापाल हासिम मियाँ अन्सारीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम अभियोग लगाएको थियो।
आयोगले २०७७/७८ मा पचरौता नगरपालिकाबाट सञ्चालित विकास निर्माण सम्बन्धी ठेक्काहरूको सूचना सार्वजनिक खरिद ऐन विपरीत राष्ट्रिय दैनिकमा नछापी प्रभाव दैनिकमा मात्र छापिएको तथा त्यही आधारमा उपाध्यायको केएस मल्टिपर्पस प्रालिलाई तीन लाख ५२ हजार ५६० रुपैयाँ भुक्तानी दिइएको प्रमाणित भएको दाबी गरेको थियो।
अदालतले लेखापाल हासिम मियाँ अन्सारीलाई भने ठोस प्रमाणको अभावमा सफाइ दिएको छ। नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्षसमेत रहेका उपाध्याय ७ वैशाखमा मधेश प्रेस काउन्सिल अध्यक्ष नियुक्त भएका थिए। नियुक्तिको दुई दिनपछि, ९ वैशाखमा अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दा दायर भएपछि उनी स्वतः निलम्बित भएका थिए।

