काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलको तदर्थ समिति भंगको मागसहित केन्द्रीय सदस्य रोजन राई र अम्बिका बास्कोटाले आइतबारदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आमरण अनसन सुरू गरेका छन्।
अनसनरत नेताहरूले तदर्थ समिति महाधिवेशन गर्न असक्षम रहेको, संगठनमा गुट उपगुट निर्माण गरेर आपराधिक गतिविधिलाई प्रोत्साहन दिएको, र लामो समयसम्म पार्टी निर्देशन पालना नगरेको आरोप लगाएका छन्।
उनीहरूले आरोप लगाएका छन् कि, लम्जुङ घटनामा कार्यकर्तामाथि खुकुरी प्रहारजस्ता गम्भीर घटना भएको, तर त्यसमा संगठनको नेतृत्व मौन बसेको छ। साथै, भवन निर्माणका लागि विनियोजित बजेटबारे गलत प्रचार गरेर स्व. गणेशमान सिंहको नाम बदनाम बनाउने काम गरिएको पनि उनीहरूको दाबी छ।
त्यस्तै, देशभर ५० भन्दा बढी जिल्लामा कार्यवाहकमाथि कार्यवाहको जिम्मेवारी दिइएको भन्दै संगठनको ढाँचामा अराजकता फैलिएको उनीहरूको भनाइ छ।
साथै, २०७८ सालमै महाधिवेशन गर्नुपर्ने तरुण दलले पटक–पटक म्याद थप्दा पनि अहिलेसम्म कुनै पनि जिल्लामा अधिवेशन नगरेको, त्यसैले समिति स्वतः विघटनमा जानुपर्ने अवस्था आएको जनाइएको छ।
कांग्रेस केन्द्रीय समितिले पनि २०८१ चैत मसान्तपछि तदर्थ समितिको कार्यकाल स्वतः समाप्त हुने निर्णय गरिसकेको उल्लेख गर्दै, अब त्यो कार्यसम्पन्न समिति नरहेको उनीहरूको भनाइ छ।
अनसन सुरू गर्दा जारी विज्ञप्तिमा उनीहरूले भनेका छन्, “कुनै पनि जिम्मेवारी पूरा गर्न नसक्ने संस्था वा व्यक्तिलाई पुरस्कार नभई दण्ड दिने संस्कार बसाल्नुपर्छ।”
यस विषयमा नेपाली कांग्रेसको नेतृत्वले औपचारिक प्रतिक्रिया नदिए पनि, आन्तरिक असन्तोष पार्टीको युवा तहमा चुलिँदै गएको संकेत देखिएको छ।

