काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले चीनको एक हप्ते औपचारिक भ्रमण उपलब्धिमूलक रहेको बताएका छन् ।
भ्रमण सकी नेपाल फर्किएपछि मन्त्री खड्काले चीनसँग विभिन्न महत्वपूर्ण छलफल र सम्झौताहरूमा सहभागी भई, नेपालको ऊर्जा क्षेत्रको विकास र भविष्यका योजनाबारे जानकारी गराए ।
चीन भ्रमणको क्रममा मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रमा भविष्यमा थप सहकार्य र योगदानको लागि प्रतिबद्धता व्यक्त गर्दै भने, नेपाल अब ऊर्जा सुरक्षामा आत्मनिर्भर बनिसकेको छ र हामी भविष्यमा यस क्षेत्रमा नयाँ अवसरहरूको सिर्जना गर्ने लक्ष्यमा अघि बढिरहेका छौँ।
चीन भ्रमणका प्रमुख उपलब्धिहरू
मन्त्री खड्काले शाङ्हाई सहयोग संगठनको पाँचौं ऊर्जा मन्त्रीस्तरीय बैठकमा नेपालको ऊर्जा रणनीति र दीर्घकालीन सहकार्यका विषयमा आफ्नो धारणा राखेका थिए । बैठकमा उनले नेपालको आगामी ऊर्जा योजनाबारे जानकारी दिँदै, २०३५ सम्म २८,५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य र १५,००० मेगावाट विद्युत निर्यात गर्ने योजनाबारे पनि चर्चा गरे ।
मन्त्री खड्काले बैठकमा चीनसँग भविष्यमा सहकार्य थप बलियो बनाउने कुरामा जोड दिए । उनका अनुसार, ऊर्जा अब केवल व्यापारको विषय होइन, यो हाम्रो दिगो विकास र साझा समृद्धिको आधार हो। नेपालले अब ऊर्जा क्षेत्रलाई एक प्रमुख चालकको रूपमा अघि बढाउने योजना बनाएको छ।
द्विपक्षीय बैठक र समृद्धिको साझा लक्ष्य
चीन भ्रमणको दौरान, मन्त्री खड्काले चीनका ऊर्जा प्रमुख वाङ होङजीसँग द्विपक्षीय भेटवार्ता पनि गरेका थिए । उक्त भेटमा, नेपाल र चीनबीच ऊर्जा सुरक्षाको क्षेत्रमा दीर्घकालीन सहकार्यको संभावना र प्रविधि हस्तान्तरणको बारेमा छलफल भएको थियो। मन्त्री खड्काले जलविद्युत्, प्रसारण प्रणाली विस्तार, वैकल्पिक ऊर्जा प्रवर्द्धन र क्षमता विकासका क्षेत्रमा चीनसँग सहकार्यको अपेक्षासमेत व्यक्त गरे ।
नेपाली समुदायसँग लगानीको आह्वान
भ्रमणको क्रममा, मन्त्री खड्काले चीनमा रहेका नेपाली समुदायलाई नेपालको ऊर्जा क्षेत्र र अन्य क्षेत्रहरूमा लगानी गर्न आग्रह गर्दै भने, नेपाल अब ऊर्जा क्षेत्रको दृषटिकोनमा एक कदम अघि बढिसकेको छ र सरकारले लगानीको वातावरण बनाउन थप पहल गरेको छ।
नेपालमा लगानीको वातावरण सृजना गर्ने उद्देश्यले, मन्त्री खड्काले चीनमा आयोजित ट्रेड फेस्टमा पनि सहभागिता जनाउनुभयो र नेपालमा लगानी गर्नका लागि सुधार गरिएका वातावरण र विभिन्न पहलहरूको बारेमा चर्चा गरे ।
मन्त्री खड्काले नेपाल सरकारको दृष्टिकोण र नीतिहरूलाई उजागर गर्दै जलस्रोत र ऊर्जा क्षेत्रमा नेपाललाई समृद्ध बनाउने योजनाहरू प्रस्तुत गरेका थिए ।
चीन भ्रमण सकेर नेपाल आइपुग्नु भएका मन्त्री खड्कालाई स्वागत गर्न ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री खमबहादुर गर्बुजा, मंत्रालयका सचिवद्वय सुरेश आचार्य एवं सरिता दवाडी, मंत्रालयका सहसचिव लगायत उच्च पदस्थ अधिकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

