२०८३, आश्विन २२ गते

images

आरपिजीसिएल र पाँच जलविद्युत् कम्पनीबीच ग्रीड कनेक्सन सम्झौता, ६०७ मेगावाट क्षमताका आयोजना समेटिए

आरपिजीसिएल र पाँच जलविद्युत् कम्पनीबीच ग्रीड कनेक्सन सम्झौता, ६०७ मेगावाट क्षमताका आयोजना समेटिए

बुधवार, आषाढ १८ २०८२०१:०२
बुधवार, आषाढ १८ २०८२०१:०२
  • images

    काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजीसिएल) र पाँचवटा जलविद्युत् प्रवर्द्धक कम्पनीबीच ग्रीड कनेक्सनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको प्रमुख आतिथ्यमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा सम्झौतामा हस्ताक्षर गरिएको हो।

    आरपिजीसिएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इञ्जिनियर सागर श्रेष्ठ र पाँच कम्पनीका प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौता गर्ने कम्पनीहरूमा एससी पावर कम्पनी प्रालि, सुर्मा सरोबर हाइड्रोपावर प्रालि, माता मालिका इनर्जी मल्टिपल प्रालि, सूर्य होल्डिङ प्रालि र हिमजल हाइड्रोपावर प्रालि रहेका छन्।

    यी सम्झौताअन्तर्गत कुल ६०७.०६३ मेगावाट क्षमताका जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ। समावेश आयोजना निम्नानुसार छन्:

    तिला–१ जलविद्युत् आयोजना (४४० मेगावाट, कालीकोट) – प्रवर्द्धक: एससी पावर कम्पनी प्रालि

    महाकाली सेती अर्धजलाशययुक्त आयोजना (५४ मेगावाट, बझाङ) – प्रवर्द्धक: सुर्मा सरोबर हाइड्रोपावर प्रालि

    मालुमेला सेतीनदी पिकिङ आयोजना (७२ मेगावाट, बझाङ) – प्रवर्द्धक: माता मालिका इनर्जी मल्टिपल प्रालि

    अपर मेवा खोला ‘ए’ आयोजना (३१.९२ मेगावाट, ताप्लेजुङ) – प्रवर्द्धक: सूर्य होल्डिङ प्रालि

    सुपर दरौदी आयोजना (९.१४३ मेगावाट, गोरखा) – प्रवर्द्धक: हिमजल हाइड्रोपावर प्रालि

    ऊर्जा मन्त्री खड्काले सम्झौतालाई ऊर्जा क्षेत्रको दीर्घकालीन विकासमा महत्वपूर्ण कदमको रूपमा व्याख्या गरे। “ऊर्जा प्रवर्द्धन र लगानीको व्यवस्थापन अभावले नेपालको समृद्धिमा अवरोध आएको छ। यस्ता सहकार्यबाट आवश्यक सुधार सम्भव छ,” उनले भने।

    कार्यक्रममा ऊर्जा सचिव सुरेश आचार्य, विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताललगायत अधिकारीहरूको उपस्थिति रहेको थियो। उनीहरूले सन् २०३५ सम्मको ऊर्जा विकास लक्ष्यमा पुग्न यस्ता सम्झौताले योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

    सरकारले उत्पादन, प्रसारण तथा वितरण प्रणाली सुदृढ पार्दै नेपाललाई ऊर्जा निर्यात केन्द्र बनाउने लक्ष्य लिएको छ। यस्ता सम्झौताहरू उक्त लक्ष्यतर्फको महत्वपूर्ण पाइला हुन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend