काठमाडौं । नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफ्नो अभिव्यक्तिपछि पार्टीका जिम्मेवार पदाधिकारीहरूबाट सार्वजनिक रूपमा हिंसात्मक ढंगमा बोलिएको भन्दै गम्भीर आपत्ति जनाएकी छिन्।
अध्यक्ष माधवकुमार नेपालविरुद्ध ‘सिनो बोकेर हिँड्न सकिन्न’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने टिप्पणी गरेपछि पार्टीभित्र विवाद चुलिएको थियो। यही विवादका सन्दर्भमा स्पष्टीकरण दिन बोलाइएकी झाँक्रीले आज सचिवालय बैठकमा स्पष्ट रूपमा आफ्नो धारणा राखेकी हुन्।
उनले भनिन्, “पार्टी महासचिवको निर्देशनपछि म पूर्ण मौन बसेँ। तर, जिम्मेवार पदाधिकारीहरू मिडिया, सोसल मिडिया र भर्चुअल प्लेटफर्महरूमा निरन्तर हिंसात्मक रूपमा बोलिरहनु दुःखद र पार्टी हितविपरीत हो।”
अहिलेसम्म उनलाई कुनै पनि कमिटी वा आयोगबाट लिखित वा मौखिक रूपमा औपचारिक स्पष्टीकरण नसोधिएको उनले बताइन् ।
“कतिपयले त अनुशासन आयोगले स्पष्टीकरण सोधिसकेको भनीसक्नु भएको छ। तर, मलाई अहिलेसम्म त्यस्तो केही आएको छैन,” उनले भनिन्।
झाँक्रीले सार्वजनिक अभिव्यक्तिबारे पार्टीभित्रै छलफल गर्नुपर्छ भन्ने मान्यताका साथ आफू चुप बसेको तर पदाधिकारीहरू नै मिडियामा आक्रामक शैलीमा प्रस्तुत हुँदा पार्टीको नै छवि प्रभावित भएको उल्लेख गरिन्।

