२०८३, आश्विन २२ गते

images

कांग्रेस नवलपरासीमा चुलियो विवाद, समाधानका लागि महामन्त्री गगन थापालाई पत्र

कांग्रेस नवलपरासीमा चुलियो विवाद, समाधानका लागि महामन्त्री गगन थापालाई पत्र

शुक्रवार, आषाढ २० २०८२१२:५९
शुक्रवार, आषाढ २० २०८२१२:५९
  • images

    काठमाडौं । नेपाली कांग्रेस पश्चिम नवलपरासीमा दुई पक्षबीचको विवाद चुलिँदै गएपछि जिल्ला कार्यसमितिले पार्टी महामन्त्री गगन थापालाई हस्तक्षेपको औपचारिक आग्रह गरेको छ । २०७९ सालको निर्वाचनमा देखिएको अन्तरघात र त्यसपछिका कारबाही सिफारिसका कारण जिल्ला समितिमा संस्थापन र इतर समूहबीच गहिरो असन्तुष्टि उत्पन्न भएको हो ।

    जिल्ला समितिले संस्थापन पक्षका प्रदेश महामन्त्री विक्रम खनालमाथि कारबाहीको सिफारिस गरेसँगै इतर समूहले केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलसहित सात जना नेतालाई अनुशासनको कारबाहीका लागि सिफारिस गरेका छन् ।

    यही परिस्थितिमा कांग्रेस जिल्ला कार्यसमितिका सचिव उमेशचन्द्र यादवद्वारा हस्ताक्षरित पत्रमार्फत महामन्त्री थापालाई आन्तरिक विवाद समाधानका लागि पहल गर्न औपचारिक रूपमा आग्रह गरिएको छ ।

    पत्रमा पार्टीभित्रको अहिलेको अवस्थाले समर्पित कार्यकर्ताहरूको मनोबल गिराएको, संगठनात्मक आत्मविश्वास डगमगाएको र पार्टी एकतामाथि नै प्रश्न उठ्न थालेको उल्लेख गरिएको छ ।

    पत्रमा भनिएको छ, “पार्टीका तल्लो तहका कार्यकर्ताहरूमा निराशा र अविश्वास बढेको छ । केही सक्षम साथीहरूले पार्टी परित्याग गर्न थालेका छन्, जुन चिन्ताको विषय हो ।”

    जिल्ला कार्यसमितिले पार्टीभित्र वैचारिक विमर्श र स्वस्थ आलोचनाको परम्परा टुटेको र यसले संवादहीनता, उदासीनता र संगठनभित्रको निष्क्रियता बढाएको पनि औंल्याएको छ ।

    हाल जिल्ला समितिमा इतर समूहको प्रभाव रहेको बताइन्छ । समितिले संस्थापन पक्षका नेताहरूलाई स्थानीय चुनावमा पार्टी उम्मेदवारविरुद्ध बागी उठाउने, जिसस (जिल्ला समन्वय समिति) चुनावमा पार्टीसँग बहुमत हुँदाहुँदै पनि विपक्षी उम्मेदवारलाई जिताउनेजस्ता गतिविधिको आरोप लगाउँदै कारबाहीको सिफारिस गरेको हो ।

    जिल्ला समितिको सिफारिसअनुसार कारबाही सिफारिसमा परेका नेताहरूमा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, क्षेत्रीय सभापति माधव पाण्डे, रामग्राम नगर समिति सभापति श्रीधर बस्याल, मोहन शर्मा, उमेश विक, जन्मजय यादव र विनोद पाण्डे रहेका छन् ।

    जिल्ला अनुशासन समितिमा निर्वाचन अवधिमा पार्टीविरुद्ध काम गरेको भन्दै झन्डै २ हजार उजुरी दर्ता भएको र त्यसअनुसार केहीलाई स्पष्टीकरण सोधिएको तथा केहीमाथि कारबाही प्रक्रिया अघि बढाइएको पनि जिल्ला समितिले जनाएको छ ।

    पार्टीभित्र चुलिँदै गएको आन्तरिक विवाद समाधानका लागि केन्द्रले चाँडै हस्तक्षेप नगरे घनिष्ठ कार्यकर्ता बाहिरिने र संगठन थप कमजोर हुने चेतावनी कार्यकर्ताहरूले दिएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend