२०८३, आश्विन २१ गते

images

भिजिट भिसा प्रकरण छानबिनको माग गर्दै रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

भिजिट भिसा प्रकरण छानबिनको माग गर्दै रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

मंगलवार, आषाढ ३१ २०८२०१:४५
मंगलवार, आषाढ ३१ २०८२०१:४५
  • images

    काठमाडौं । भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार बसेको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।

    बैठक सुरु हुनेबित्तिकै सभामुख देवराज घिमिरेले औपचारिक घोषणा गरेलगत्तै दुवै दलका सांसदहरूले विरोध जनाएका थिए। रास्वपा सांसद शिव नेपाली र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बोल्ने क्रममा सरकारलाई कडा प्रश्न उठाएका थिए।

    रास्वपाका सांसद शिव नेपालीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको राजीनामा मात्र पर्याप्त नरहेको भन्दै घूस प्रकरणको सत्य तथ्य बाहिर ल्याउन उच्चस्तरीय छानबिन समिति गठन आवश्यक रहेको बताए। “मन्त्री गुप्ताले राजीनामा दिएर मात्रै हुँदैन, सत्यको गहिरो छानबिन हुनुपर्छ,” उनले भने।

    राप्रपाका प्रमुख सचेतक शाहीले भने सरकारसामु दुवै पार्टीले पटक–पटक उठाउँदै आएको भिजिट भिसा प्रकरणबारे विशेष संसदीय समिति वा उच्चस्तरीय छानबिन समिति गठनको माग अझै पूरा नभएकाले आफूहरू विरोधमा उत्रनुपरेको स्पष्ट पारे।

    साथै, उनले गृहमन्त्री रमेश लेखकमाथि पनि प्रश्न उठाएका छन्। “राजीनामा दिएर राजकुमार गुप्ताले नैतिकता देखाए, तर आफूमाथि प्रश्न उठ्दा पनि गृहमन्त्री लेखक किन पदमा टिकिरहन खोज्दैछन्?” उनले आक्रोश पोखे।

    दुवै दलका नेताहरूको मन्तव्यपछि रास्वपा र राप्रपाका सबै सांसदहरू बैठक कक्षबाट बाहिरिएका थिए।

    भिजिट भिसा प्रकरणमा पछिल्ला दिनहरूमा व्यापक विवाद चुलिँदै गएको छ। सो प्रकरणमा संलग्नहरूलाई कारबाही तथा छानबिनको माग गर्दै नागरिक समाजदेखि सांसदहरूले समेत आवाज उठाउँदै आएका छन्।

     

     

     

     

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend