काठमाडौँ । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–१ स्थित दौत्यखोलामा आज (सोमबार) बिहान भएको सवारी दुर्घटनामा १३ जना यात्रु घाइते भएका छन्। बिहान करिब ८ बजे हलेसीबाट सिराहाको गोलबजारतर्फ जाँदै गरेको प्र.२–०१–००१ ज ००५३ नम्बरको विङगर गाडी अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते हुनेहरूमा सिराहाको नरहा गाउँपालिका–५ का ३९ वर्षीय रञ्जित यादव, ७० वर्षीया कुस्मवती यादव, ७० वर्षीय राज यादव, र रामशरण ठाकुरकी श्रीमती ९नाम खुल्न बाँकी० लगायत रहेका छन्। रामशरण ठाकुरकी पत्नीसहित केही घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ।
दुर्घटनापछि १३ जना घाइतेलाई तत्काल एम्बुलेन्समार्फत उपचारका लागि उदयपुर पठाइएको छ। घटनाको जानकारी पाउनेबित्तिकै ७ नम्बर गुल्म हलेसीबाट प्रहरी निरीक्षक विष्णु बहादुर आलेको नेतृत्वमा ११ जनाको टोली, हर्कपुर ओखलढुंगाबाट प्रहरी सहायक निरीक्षक विरेन्द्र कार्कीको नेतृत्वमा १० जनाको टोली, जयरामघाट प्रहरी पोष्ट, च्यास्मिटार प्रहरी चौकी र इलाका प्रहरी कार्यालय हलेसीबाट समेत प्रहरी परिचालन गरिएको थियो। घटनास्थल जयरामघाट प्रहरी पोष्टबाट करिब दुई किलोमिटर पूर्वतर्फ पर्छ। दुर्घटनामा परेको गाडीमा करिब १८ जना सवार रहेको अनुमान गरिएको छ। उद्धार कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ।

