काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार संसद बैठकमार्फत पदबाट राजीनामा दिएका छन्। संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधान निष्प्रभावी हुने भाषा घुसाइएको आरोपपछि उनी निरन्तर विवादमा परेका थिए।
खतिवडाले राजीनामाको घोषणा गर्दै विधेयकमा आफ्नो हस्ताक्षर भएकाले नैतिक जिम्मेवारी लिएको बताए। उनले सुरुदेखि नै २ वर्षे कुलिङ पिरियडको अडान लिएको तर प्रतिवेदन लेख्ने क्रममा त्रुटि भएको दाबी गरे।
संसदीय विशेष समितिको २७ दिनको अध्ययनपछि खतिवडासहित केहीलाई जिम्मेवार ठहर गरिएको थियो। तर, खतिवडाले आफ्नो व्यक्तिगत स्वार्थ नभएको र छानबिन समितिले पनि आफूलाई दोषी ठहर नगरेको पुनः स्पष्ट पारे।
“पदभन्दा प्रश्नलाई माथि राखेर हाँसीहाँसी राजीनामा दिँदैछु,” उनले भने। विधेयकमाथि विशिष्ट श्रेणीका कर्मचारीको चलखेल भएको उनको आरोप छ।

