काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बिहीबार दिउँसो र राति देशका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुने जनाउँदै सावधानी अपनाउन आग्रह गरेको छ।
महाशाखाले बिहान ६ बजे जारी गरेको २४ घण्टे मौसम बुलेटिनअनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरूमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। यस्तै, लुम्बिनी प्रदेशको तराई तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ।
आज दिउँसो अधिकांश पहाडी भेगमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ। केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुन सक्ने बताइएको छ।
राति पनि देशभर सामान्य बदली रहनेछ भने पहाड भू–भागका धेरै स्थान तथा अन्य केही भू–भागमा मध्यम वर्षा र केही क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड तथा लुम्बिनी र कोशी प्रदेशका तराई भू–भागमा भारी वर्षाको सम्भावना रहेको छ।
मौसमविद्का अनुसार २४ घण्टामा १० देखि ५० मिलिमिटर वर्षा मध्यम, ५० देखि १०० मिलिमिटर भारी, १०० देखि २०० मिलिमिटर धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षा अति भारी मानिन्छ।
साथै, ''एक–दुई स्थानमा वर्षा'' भन्नाले १० प्रतिशतभन्दा कम क्षेत्रफलमा वर्षा हुने, ''थोरै स्थान'' १०–३० प्रतिशत, ''केही स्थान'' ३०–५० प्रतिशत, ''धेरै स्थान '' ५०–८० प्रतिशत र'' अधिकांश स्थान'' ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा वर्षा हुने सम्भावनालाई जनाउँछ।

