काठमाडौं । पाँच दिनपछि सञ्चालनमा आएका सार्वजनिक यातायातका साधनहरूमार्फत आज शनिबार काठमाडौंको नयाँ बसपार्कबाट ३०० भन्दा बढी बसहरू उपत्यकाबाट बाहिरिएका छन्। भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ पश्चात बन्द भएको यातायात सेवा शनिबारदेखि पुनः सञ्चालनमा आएपछि बसपार्कमा यात्रुहरूको भीड बढेको छ।
नयाँ बसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रा.लिका महाप्रबन्धक सुनिल कुँवरका अनुसार, बिहानैदेखि देशका विभिन्न गन्तव्यतर्फ यात्रु लिएर ३ सयभन्दा बढी सार्वजनिक सवारीसाधन बाहिरिएका हुन्।
“जेनजी प्रदर्शनका कारण केही दिन यातायात सेवा ठप्प भयो। कर्फ्यु हटेपछि आजदेखि जनजीवन सामान्य बनेको छ र यात्रुहरू घर फर्किन थालेका छन्,” कुँवरले जानकारी दिए।
उनका अनुसार दशैँ नजिकिँदै गएकाले यात्रु चाप पनि उल्लेख्य रूपमा बढ्दै गएको छ। तर जेनजी आन्दोलनका कारण अहिलेसम्म दशैँको अग्रिम टिकट बुकिङ खुल्न सकेको छैन, जसले गर्दा यात्रुहरू अन्योलमा छन्।
उता, यातायात व्यवसायीहरूले भने अवस्था केही दिन स्थिर भएमा मात्र अग्रिम टिकट बुकिङ खुलाउने तयारी गरिरहेको जनाएका छन्। यात्रुहरूलाई अहिले बसपार्कमै आएर सिधा टिकट काट्ने र बस चढ्ने स्थिति सिर्जना भएको छ।
काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य नाका र बसपार्कहरूमा यात्रुहरूको चहलपहल पुनः बढ्न थालेको छ। दसैँ नजिकिँदै गर्दा अग्रिम टिकट बुकिङ खुलाउनेबारे यातायात व्यवस्था विभाग, व्यवसायी र सुरक्षासँग सम्बन्धित निकायबीच छलफल भइरहेको छ।

