काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र सुरक्षित बनाउन आवश्यक तयारीका सन्दर्भमा निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्की तथा सुरक्षा निकायका प्रमुखहरूसँग आज छलफल गर्ने भएको छ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार छलफल आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुनेछ। उक्त बैठकमा निर्वाचन सुरक्षासम्बन्धी विभिन्न पक्ष, तयारीका अवस्था तथा सुरक्षा संयन्त्रको समन्वयबारे विस्तृत छलफल हुने बताइएको छ।
'मतदाता नामावली संकलनदेखि, दल दर्ता, निर्वाचन सामग्री व्यवस्थापन लगायतका विषयमा आयोगले आफ्नो तयारी प्रस्तुत गर्नेछ, त्यसपछि सरकार र सुरक्षा निकायका तर्फबाट धारणा राखिनेछ,' घिमिरेले बताए।
साथै छलफलमा एकै चरणमा निर्वाचन सम्पन्न गर्न सकिने सम्भावनाबारे समेत महत्वपूर्ण बहस हुने उनले जानकारी दिए। निर्वाचन आयोगले सोमबार मात्र आगामी निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको थियो। कार्यतालिकाअनुसार मंसिर १ देखि १० गतेसम्म राजनीतिक दलहरूको दर्ता, माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना, फागुन ३ देखि १८ गतेसम्म प्रचारप्रसार अवधि, र फागुन २१ गते मतदान हुने उल्लेख छ।
समानुपातिक प्रणालीतर्फ भने मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पौष १८ र १९ गते बन्दसूची पेश गर्नुपर्ने कार्यतालिका छ।
निर्वाचन आयोगले सरोकारवालासँग समन्वय, परामर्श र सहकार्यका लागि समय(समयमा यस्ता बैठक तथा छलफलहरू आयोजना गर्दै आएको छ।

