काठमाडौँ। सरकारले स्वदेशी वस्तु निर्यातमा दिदैँ आएकाे नगद अनुदान कटाैतिकाे घाेषणा गरेकाे छ। उद्याेग विभागले एक सूचना जारी गर्दै नगद अनुदान कटाैती भएकाे जनाएकाे हाे।
जेनजी आन्दोलनका कारण दायित्व सिर्जना हुने काम रोक्ने भन्दै उद्योग मन्त्रालयले निर्यात बापतको नगद अनुदान दिनका लागि उद्योगीहरुबाट मूल्य अभिवृद्धि प्रमाणीकरणको काम नै रोकेको हो ।
"उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको च.नं. मिति २०८२/०६/५ को पत्रबाट चालु आर्थिक वर्षमा थप दायित्व सिर्जना गर्ने गरी निवेदन लिन उपर्युक्त नदेखिएको भनी लेखी आएको हुँदा आर्थिक वर्ष २०८१/०८१ को स्वघोषणाको विवरण उद्योग विभागमा पेश नगर्ने व्यवस्था हुन सरोकारवाला सबैमा जानकारीका लागि यो सूचना जारी गरिएको छ’, सूचनामा भनिएकाे छ ।
सरकारले नेपालबाट निर्यात गर्ने उद्योगहरुलाई निर्यातबापत अधिकतम् ८ प्रतिशतसम्म अनुदान दिँदै आएको थियो । कम्तीमा ३० प्रतिशत स्वदेशी मूल्य अभिवृद्धि प्रमाणित गरेर निर्यात भएका वस्तुको कुल मूल्यको अधिकतम् ८ प्रतिशतसम्म यस्तो अनुदान दिने गरिएको थियो । निर्यातमा नगद अनुदान प्रदान गर्ने सम्बन्धि कार्यविधि अनुसार ८ प्रतिशत अनुदान पाउन ५० करोडभन्दा माथिको निर्यात गर्नुपर्ने थियो ।
पछिल्ला वर्षहरुमा उद्योग विभागले उद्योगहरुबाट स्वघोषणा प्रमाणिकरण बुझेपछि अनुदान भने दिन सकेको थिएन । तर, अहिले आएर स्वघोषणा नै रोकिएको हो ।

