काठमाडौं।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई सुन तस्करी प्रकरणमा पक्राउ गरेको छ। भन्सार छली र संगठित आपराधिक लाभको आरोपमा महरालाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।
२०७९ पुस १० गते फ्लाई दुबईको उडान FZ0587 मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका चिनियाँ नागरिक ली हानसोङसँग दुईवटा सुटकेसभित्र लुकाइएको ७३० थान भेपमा ८ करोड ५५ लाख रुपैयाँ बराबरको सुन फेला परेको थियो। प्रारम्भिक अनुसन्धानपछि सुन तस्करीको योजनामा संगठित गिरोहको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ।
भेप काण्डमा संलग्नता रहेको आशंकामा केही दिनअघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरासँग बयान लिएको थियो। तर सो समयसम्म सीआईबीले उनीमाथि औपचारिक मुद्दा नचलाएको थियो।
गृहमन्त्री ओमप्रकाश अर्यालले अन्तरिम सरकार गठनपछिको पहिलो मन्तव्यमा ‘राजनीतिक दबाबमा रोकिएका मुद्दाहरू अब अगाडि बढाइने’ बताएका थिए। त्यसको केही दिनमै महरा पक्राउ परेको छ, जसलाई कतिपयले ‘न्यायिक सक्रियता’ को संकेतको रूपमा हेरेका छन्।
प्रहरीका अनुसार महरा लगायत केही व्यक्तिहरूले उक्त सुन भन्सार कार्यालयका कर्मचारीमार्फत बिक्री गरी अवैध आर्थिक लाभ लिएको प्रारम्भिक प्रमाण भेटिएको छ। यस प्रकरणमा अन्य संलग्न व्यक्तिहरूको खोजी र अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।

