काठमाडौं । लामो समयदेखि स्थानीय समूहको आन्दोलनका कारण बन्द रहेको भोटेकोशी जलविद्युत आयोजना अन्ततः पुनः सञ्चालनमा आएको छ। आयोजनाले स्थानीय समुदायलाई १० प्रतिशत सेयर दिने सहमतिपछि पावर प्लान्ट आजैदेखि सञ्चालनमा ल्याइएको हो।
जेनजी आन्दोलनको नेतृत्व गर्दै आएको समूहसँग भोटेकोशी पावर कम्पनी प्रा।लि।ले १० प्रतिशत सेयर दिनेसम्बन्धी सहमति गरेपछि एक महिनासम्म रोकिएको आयोजना पुनः सुरु गरिएको हो।
यसअघि आयोजनाले राजनीतिक दलका प्रतिनिधिको रोहबरमा स्थानीयलाई ६ प्रतिशत सेयर दिने सहमति गरेको थियो। तर, भदौ २२ र २४ गतेको आन्दोलनपछि स्थानीयको तर्फबाट स्थापित जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडले १० प्रतिशत सेयरको माग गरेको थियो।
आइतबार सम्पन्न सम्झौतामा भोटेकोशी पावर कम्पनीका सचिव विश्वमोहन कर्माचार्य र जेनजी पब्लिक इन्भेष्टमेन्टका अध्यक्ष फुर्पा शेर्पाले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार, भोटेकोशी पावर कम्पनीले आफ्नो सेयरको १० प्रतिशत हिस्सा प्रत्यक्ष प्रभावित स्थानीय तहका बासिन्दाहरूले स्थापना गरेको सार्वजनिक कम्पनीलाई दिनेछ। यो सेयर साबिक २०७१ सालको ६ प्रतिशत सेयर दिने सहमतिमा ४ प्रतिशत थप गर्दै जम्मा १० प्रतिशत पुर्याइएको हो। सेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ, र स्थानीयले उक्त सेयर खरिदका लागि बैंकबाट ऋण लिनेछन्। ऋण लिने प्रक्रिया जेनजी समूहले अगाडि बढाउनेछ भने भोटेकोशी कम्पनीले त्यसको जमानीको व्यवस्था गर्नेछ।
आयोजनाबाट प्राप्त हुने वार्षिक लाभांशबाट कर्जा र ब्याज तिर्ने व्यवस्था गरिएको छ। यदि लाभांशबाट पूर्ण रुपमा कर्जा भुक्तानी भएन भने बाँकी रकम आयोजनाले नै बेहोर्ने सहमति भएको छ। यसका साथै, आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत भोटेकोशी गाउँपालिकालाई वार्षिक २ करोड ५० लाख रुपैयाँ दिने सहमति पनि सम्झौतामा उल्लेख गरिएको छ। अबदेखि अन्य शीर्षकमा रकम माग्न नपाइने स्पष्ट गरिएको छ।
स्थानीय समूहले आयोजना सञ्चालनमा कुनै अवरोध नगर्ने र आयोजनाको सुरक्षामा समेत पूर्ण साथ दिने प्रतिबद्धता जनाएको छ। साथै, भविष्यमा देखिन सक्ने सम्भावित विवाद, माग तथा समस्याहरू समाधान गर्न पनि स्थानीय समूहले साथ दिने उल्लेख छ।

