काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सत्तामा नरहे पनि आफूलाई राज्यझैँ प्रस्तुत गर्ने प्रवृत्तिमाथि कडा चेतावनी दिएका छन्। अछामका सामाजिक अभियन्ता मदन बुढाको आमरण अनशन तोडाउने कार्यक्रममा बोल्दै मन्त्री अर्यालले ‘म नै राज्य हुँ’ भन्ने मानसिकता विकृति भएको उल्लेख गर्दै सरकार त्यसको मौलिक तरिकाले उपचार गरिरहेको बताए।
''सरकारमा नभए पनि म त सरकारमै छु जस्तो, म नै राज्य हुँ जस्तो जुन खालको आइरहेको थियो, त्यो सरकारले अर्गानिक–वेमा ट्रिटमेन्ट गरिरहेको छ,'' मन्त्री अर्यालले स्पष्ट शब्दमा भने।
उनले थपे, ''सरकार फेरिए पनि कतिपयमा अझै पनि सरकारमै रहेको जस्तो व्यवहार देखिएको छ। एउटा मान्छेको पछाडि ४७-५२ जना सुरक्षाकर्मी र? यो के होर? यस्तो ‘आइ एम द स्टेट’ प्रवृत्तिको अन्त्य गर्नुपर्छ।''मन्त्री अर्यालले यसलाई ''विकृति र रोग'' संज्ञा दिँदै राज्य संयन्त्रको दुरुपयोग गर्ने व्यक्तिहरूमाथि आवश्यक कारबाहीको संकेतसमेत गरे।
अनशनरत मदन बुढाको मागबारे प्रतिक्रिया दिंदै उनले सरकार सुदूरपश्चिम लगायत सबै क्षेत्रको प्रतिनिधित्वलाई सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए।

