२०८३, आश्विन २० गते

images
  • समाचार
  • ' नेताहरू भाग्न खोज्दै छन्’ :...

' नेताहरू भाग्न खोज्दै छन्’ : गृहमन्त्री अर्याल

' नेताहरू भाग्न खोज्दै छन्’ : गृहमन्त्री अर्याल

आइतवार, कार्तिक २ २०८२११:०२
आइतवार, कार्तिक २ २०८२११:०२
  • images

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले ठूला नेताहरूको सम्पत्ति छानबिन सुरु भएपछि केही नेताहरू देश छोड्न थालेको गम्भीर आरोप लगाएका छन्। उनले हालैको एक अन्तरवार्तामा तत्कालीन ऊर्जामन्त्री भागिसकेको उल्लेख गर्दै अन्य नेताहरू पनि भाग्न खोजिरहेको दाबी गरेका छन्। गृहमन्त्री अर्यालले पूर्व ऊर्जामन्त्रीको नाम खुलेर नलिए पनि भदौ २३ र २४ को जेन–जी आन्दोलनताका ऊर्जामन्त्री रहेका कांग्रेस नेता दीपक खड्कालाई संकेत गरेका छन्।

    उनले सरकारद्वारा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पूर्ण रूपमा सक्रिय बनाइएको जानकारी दिँदै ठूला नेताहरूको सम्पत्तिको विस्तृत विवरण संकलन भइरहेको बताएका छन्। उनका अनुसार अहिले प्रारम्भिक अनुसन्धान चलिरहेको छ र आवश्यक परेको खण्डमा बयानका लागि बोलाउने, उपस्थित गराउने तथा मुद्दा दायर गर्दा पक्राउ गर्ने प्रक्रियासमेत अघि बढाइनेछ।

    गृहमन्त्री अर्यालले भाग्न खोज्नेहरूलाई रोक्न कानुनी उपायहरूको अध्ययन भइरहेको पनि बताएका छन्। “उनीहरूलाई भाग्न नदिन के–कस्ता कानुनी प्रावधान छन् भन्ने विषयमा हामी अध्ययन गरिरहेका छौं,” उनले भनेका छन्, “त्यसपछि अनुसन्धानका क्रममा उनीहरूलाई हाजिर गराएर प्रक्रिया अघि बढाउने तयारी हुन्छ।”

    अन्तरवार्तामा गृहमन्त्री अर्यालले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति पनि कडा टिप्पणी गरेका छन्। उनले ओलीको व्यवहारलाई ‘सैतानी प्रवृत्ति’ भएको आरोप लगाउँदै भड्काउने मानसिकता भएको बताएका छन्। “उहाँमा सैतानी प्रवृत्ति छ, उहाँ सधैं भड्काउने काम मात्र गर्नुहुन्छ। उहाँ आजसम्म सुध्रिनुभएको छैन,” गृहमन्त्री अर्यालको भनाइ छ। उनले भदौ २४ को आन्दोलनमा भएको अराजकताको जिम्मेवारी पनि ओलीको ‘क्रिमिनल नेग्लीजेन्स’ ले निम्त्याएको दाबी गरे।

    भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनका क्रममा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको बूढानीलकण्ठस्थित घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका थिए। त्यही समयमा विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यकाल नसकिँदै हटाउने निर्णय भएको थियो। अहिले भने अन्तरिम सरकारमा कुलमान घिसिङले ऊर्जा तथा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

    भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा गृहमन्त्री अर्यालले छुट्टै आयोग बनाउनेभन्दा पनि राज्यका विद्यमान संयन्त्रहरूलाई सक्रिय र प्रभावकारी बनाउने रणनीति सरकारले अपनाएको स्पष्ट पारेका छन्। “पहिला भइरहेका राज्यका संयन्त्रहरूबाटै काम गर्ने हो। जब ती प्रभावकारी देखिँदैनन्, त्यतिबेला नयाँ संयन्त्रको खाँचो पर्छ,” उनले भने।

    गृहमन्त्री अर्यालको पछिल्लो अभिव्यक्तिले देशको राजनीति, प्रशासन र सुरक्षा प्रणालीमा उच्च तहसम्म छानबिन र कडाइको संकेत दिएको छ। नेताहरूको सम्पत्ति छानबिन र भागाभाग नियन्त्रणको विषयमा सरकार कति कडा रूपमा प्रस्तुत हुन्छ भन्ने विषयमा अबको दिनमा थप चासो बढ्ने देखिन्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend