काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका प्रमुख सडक अवरुद्ध भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान ८:३० बजे दिएको जानकारीअनुसार बीपी राजमार्गसहित १० वटा सडक पूर्ण रूपमा बन्द भएका छन् भने सन्धिखर्क–गोरुसिंगे सडक खण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
बन्द भएका सडकहरूमा कोसी राजमार्ग, मेची राजमार्ग, तमोर कोरिडोर, सिद्धिचरण लोकमार्ग, नेपाल–चीन नाका जोड्ने पुल, पासाङ ल्हामु सडक, मध्यपहाडी लोकमार्ग, जोमसोम–कोरोला सडक, बेनी–दरवाङ सडक खण्ड र बीपी राजमार्ग समावेश छन्।
लगातारको वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्ने, सडक भासिने र नदी–नालाको पानी बढ्दा यातायात पूर्ण रूपमा प्रभावित भएको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् भने मालसामान ढुवानीमा पनि समस्या भएको छ। सडक विभागले क्षतिग्रस्त सडक मर्मत गर्ने र पहिरो हटाउने काम सुरु गरेको छ। उच्च जोखिम भएका सडक खण्डमा अनावश्यक यात्रा नगर्न प्रशासनले चेतावनी जारी गरेको छ।

