काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले माओवादी केन्द्रसँग हुने भनिएको पार्टी एकतामा आफूहरू सहभागी नहुने स्पष्ट धारणा व्यक्त गरेकी छन्।
हाल माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका वामपन्थी दलबीच पार्टी एकताको सम्भावनाबारे छलफल चलिरहेको छ। त्यसै सन्दर्भमा बसिरहेको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा नेतृ झाँक्रीले भनेकी छन्,
“माओवादीसँग अहिलेको अवस्थामै हुने एकतामा हामी सहभागी हुँदैनौं। जो जो सहमत हुनुहुन्छ, तपाईंहरूलाई रोक्ने प्रयास पनि गर्ने छैनौं।” उनले आफूहरूलाई ‘एकता विरोधी’ भनेर चित्रण गर्न नहुने पनि स्पष्ट पारिन्। झाँक्रीले पार्टीभित्र विचार, दृष्टिकोण र मूल्यका आधारमा छलफल हुनुपर्ने भन्दै अन्धाधुन्ध एकता ‘व्यक्तिगत स्वार्थ र सत्ताको समीकरणका लागि मात्र हुन नहुने’ टिप्पणी गरिन्।
पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल, र झाँक्रीसहितका नेताहरू माओवादीसँग तत्काल एकतामा नजाने पक्षमा छन्। तर, अध्यक्ष माधवकुमार नेपाल र उनको समूह भने माओवादीसँग एकता गरेर वाम गठबन्धनलाई मजबुत बनाउने पक्षमा छन्।
एकीकृत समाजवादीको केन्द्रीय बैठकमा अहिले यही विषय प्रमुख विवादका रूपमा छलफल भइरहेको छ। पार्टीभित्र ‘माओवादीसँगको एकता वा स्वतन्त्र अस्तित्व कायम गर्ने’ भन्ने दुई धार स्पष्ट रूपमा देखिएको छ।

