काठमाडौं । यस वर्षको दशैं तिहारको लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही नगर्ने भएको छ। सुकिला नोटलाई नै प्रयोगमा ल्याउनेगरि छलफल अघि बढेकाले यस पटकको दशैं तिहारमा नयाँ नोट सटहीको सम्भावना टरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बैंकहरुमा रहेको नोट मध्ये 'सर्टिंग' गर्दा सेतो चिन्हको 'ट्याग' मा रहेका नोटलाई सुकिला नोटको रुपमा प्रयोग गरिने भएकाले दशैं तिहार लक्षित नयाँ नोट नछापिने भएको हो। नयाँ नोट छाप्दाको आर्थिक भार कम गर्नुपर्ने तथा डिजिटल कारोबारलाई बढावा दिनुपर्ने भएकाले यस्तो निर्णय लिइएको हो।
बैंकमा भएका नोटलाई 'सर्टिंग' सेतो, पहेंलो र रातो रंगको ट्याग प्रयोग गरिन्छ। सेतो चिन्हको ट्याग भएका नोटलाई सुकिला नोटको रुपमा लिइन्छ भने पहेंलो ट्याग को नोटलाई प्रयोगमा ल्याउन सकिने ठिकै नोटको रुपमा लिइन्छ। त्यस्तै रातो चिन्हको ट्याग भएकालाई प्रयोगमा ल्याउन नसकिने 'झुत्रो' नोटको रुपमा लिइन्छ। ।

