काठमाडौँ । स्याङजाको फेदीखोला गाउँपालिका अन्तरगत वडा नम्बर २ मा पर्ने लामाचौर – स्थानचौर जोड्ने ट्रस पुल सञ्चालनमा आएको छ । पालिकाले मंगलबार एक औपचारिक कार्यक्रम आयोजना गर्दै उक्त पुल सञ्चालनमा ल्याएको हो ।
झन्डै ९० मिटर लामो उक्त पुल ७५ लाख ४३ हजार १७० रुपैयाँमा निर्माण भएको पालिकाले जनाएको छ । पालिकाका अध्यक्ष घनश्याम सुवेदीले उक्त पुलसँगै लामाचौर–चनौटे जोड्ने ३२ मिटर लामो पुल सञ्चालनमा ल्याईएको जानकारी दिए । उक्त पुलको लागत ३३ करोड ४८ लाख २० हजार ५६३ रुपैयाँ रहेको छ ।
ट्रस पुलका उपभोक्ता समितिका अध्यक्ष टंक प्रसाद गौतम को अध्यक्षतामा सञ्चालित कार्यक्रममा फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीको प्रमुख आतिथ्यता, उपाध्यक्ष देऊ कुमारी गुरुङ, अन्धा अन्धी सामुदायिक विकास केन्द्रका कार्यालय प्रमुख एकनारायण सापकोटा, वडा नं २ का अध्यक्ष अविलाष गुरुङको विशेष उपस्थिति, समाजसेवी,उपभोक्ता, आमा समुह,स्थानिय हरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।
पुल निर्माणको लागि प्राविधिक सहयोग अन्धाअन्धि सामुदायिक विकास केन्द्रको रहेको थियो । पुल निरीक्षण र आवश्यक मर्मत सम्भार तथा रेखदेख गर्नका लागि लामाचौर – स्थानचौर ट्रस पुलको लागि गंगा प्रसाद गौतम को संयोजकत्वमा ५ सदस्यीय समिति र लामाचौर – चनौटे सस्पेन्सन बृज को लागि इमानसिंह गोदार को संयोजकत्वमा ७ सदस्यीय समीती गठन गरिएको छ ।
पालिकाका अध्यक्ष सुवेदीले विकासको संरचनासँग जोडिएको उक्त पुल सञ्चालनमा आएसँगै चुनावमा गरिएको प्रतिबद्धता पूरा भएको बताए । उनले स्थानियको आशाको घडी पूरा भएको र विकटतालाई निकटताम परिणत भएको बताए ।

