काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज गृहमन्त्री ओमप्रकाश अर्यालसँग निर्वाचन सुरक्षा तथा समसामयिक प्रशासनिक विषयहरूमा विस्तृत छलफल गर्न लागेको छ।
समितिको नियमित कार्यसूचीअनुसार निर्धारण गरिएको बैठक दिउँसो १:३० बजे सिंहदरबारमा बस्नेछ। बैठकमा आगामी निर्वाचनका लागि सरकारको तयारी, देशभरको सुरक्षा स्थिति तथा सम्भावित जोखिम व्यवस्थापनबारे गृहमन्त्रीसँग प्रत्यक्ष जानकारी लिने कार्यक्रम रहेको छ।
समिति सचिवालयका अनुसार छलफलका प्रमुख मुद्दाहरूमा आगामी निर्वाचनको सम्पूर्ण सुरक्षा योजना,देशव्यापी शान्ति–सुरक्षाको वर्तमान अवस्थामाथि मूल्यांकन,विदेशमा रहेका नेपालीलाई मताधिकार उपलब्ध गराउन सरकारले गरेको तयारी,अन्तरजिल्ला मतदान व्यवस्था सम्भाव्यता र चुनौती समेत परेका छन्।
गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षा तथा मतदाता सहभागिता सुनिश्चित गर्न मन्त्रालयले अघि सारेका योजनाबद्ध कदम, परिचालन हुने सुरक्षा निकायहरूको तयारी तथा सम्भावित आपतस्थितिमा अपनाइने रणनीति बारे समितिलाई जानकारी दिने अपेक्षा गरिएको छ।
संसदीय समितिले छलफलपछि आवश्यक सुझाव, निर्देशन वा नीति सम्बन्धी सिफारिस समेत गर्ने सम्भावना रहेको जनाएको छ।

