काठमाडौं । तनहुँको व्यास नगरपालिका–११ स्थित गैह्राबारीमा तीन रोपनी क्षेत्रफलमा निर्माण गरिएको चिस्यान केन्द्र परीक्षण सफल भएपछि नियमित रूपमा सञ्चालनमा आएको छ।
नगरपालिकाका अनुसार, किसानहरूले उत्पादित १६१ बोरा बीउ आलु र खायन आलुलाई परीक्षणका रूपमा भण्डारण गरिएको थियो। परीक्षण सफल भएपछि एक सय तीस मेट्रिकटन क्षमताको चिस्यान केन्द्र गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा सञ्चालनमा ल्याइएको हो।
कृषि, पशुपन्छी तथा सहकारी विकास उपशाखाकी प्रमुख समीक्षा पोखरेलका अनुसार, किसानद्वारा उत्पादित आलुलाई नगरपालिकाले निःशुल्क परीक्षण गरेको हो।
नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीका अनुसार, प्रारम्भिक ठेक्का रकम एक करोड ६२ लाख ३२ हजार २४६ रुपैयाँ थियो, जसमा १९ लाख ९८ हजार ६२७ रुपैयाँ वृद्धि भई करसहित कुल लागत करोड ९१ लाख ३२ हजार ७२२ रुपैयाँ पुगेको छ।
विद्युत ट्रान्समिटर जडानमा ढिलाइ हुँदा सञ्चालनमा ल्याउन करिब एक वर्ष ढिला भएको थियो। नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्दै निर्माण गरेको यस चिस्यान केन्द्रले आलु, फलफूल र तरकारी सुरक्षित भण्डारण गर्न सक्ने सुविधा प्रदान गर्नेछ।
प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार, यसबाट नगरपालिकामा वार्षिक करिब पाँच करोड रुपैयाँ बाहिरिन रोक्न सकिनेछ। नगरप्रमुख वैकुण्ठ न्यौपानेले भने, “कृषिउपज पोखरा र चितवन लैजानुपर्ने समस्या अन्त्य भएको छ।”
कृषकहरूले दीर्घकालीन भण्डारणको सुविधा पाएसँगै बजारमा मूल्य सन्तुलन कायम गर्न र कृषिउपज सुरक्षित राख्न सहज हुने भन्दै उत्साह व्यक्त गरेका छन्।

