काठमाडौं । आज आठौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सुरक्षा प्रणालीको महत्व र यसबाट सामाजिक न्याय कायम गर्ने दृष्टिकोण प्रस्तुत गरेकि छिन्। कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव, विभिन्न मन्त्री, अन्तर्राष्ट्रिय श्रम संगठनका प्रतिनिधि, ट्रेड युनियन तथा रोजगारदाता प्रतिनिधिहरू, कर्मचारी र सञ्चारकर्मीहरू उपस्थित थिए।
प्रधानमन्त्री कार्कीले आफ्नो मन्तव्यमा सामाजिक सुरक्षाबिना सामाजिक न्याय सम्भव नभएको बताइन् । “योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीले धनी र गरीब, निरोगी र रोगीबीच समान सहयोग सुनिश्चित गर्छ र उत्पादनमूलक समाजको निर्माणमा योगदान पुर्याउँछ", उनले भनिन् साथै योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ लाई प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको उनले बताइन्।
उनले औपचारिक क्षेत्रमा अनिवार्य आबद्धता, अनौपचारिक क्षेत्रमा श्रमिकहरूको कानूनी संरक्षण, सरकारी करार कर्मचारीको सामाजिक सुरक्षा सुनिश्चितता, र कोषको रकमलाई न्यायोचित रुपमा लगानी गर्ने विषयमा छलफल भइरहेको जानकारी दिइन्।
प्रधानमन्त्री कार्कीले निजी क्षेत्रलाई पनि सामाजिक सुरक्षा प्रणालीलाई बोझ नभई गर्वको विषयको रूपमा लिन आग्रह गरिन्। साथै, कोषबाट संकलित रकमलाई राष्ट्र निर्माण र आन्तरिक पूँजी निर्माणमा लगानी गर्नुपर्नेमा जोड दिइन्।
कार्यक्रमको अन्त्यमा उनले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै सामाजिक सुरक्षा प्रणालीमार्फत समृद्ध नेपाल निर्माणमा योगदान पुर्याउने शुभकामना व्यक्त गिरिन्।

