काठमाडौँ । नेपाल वायुसेवा निगमका महाप्रवन्धकका लागि १६ जनाले आवदेन दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार बिहीबारसम्मको समय दिईएकोमा कार्यालय समयभित्र १६ जनाको आवेदन परेको हो ।
मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले १६ जनाको आवेदन परेको भन्दै आइतबारदेखि छनोट प्रक्रिया सुरु हुने जानकारी दिए ।
आवेदन दिनेहरुमा निगममा कार्यरत तथा पूर्व कर्मचारी, नेपाल नागरिक उडड्यन प्राधिकरणका पूर्व कर्मचारी, पाइलट तथा इन्जिनियरहरुको आवेदन परेको पाइएको छ ।
मन्त्रालयका अनुसार आवेदन दिनेमा निगमका मार्केटिङ विभागका निर्देशक टंकनिधि दाहाल, वायुसेवा सञ्चालक संघका पूर्व प्रवक्ता तथा हवाई क्षेत्रका विज्ञ योगराज शर्मा कँडेल, नेपाल आर्मीको हवाई उडान विभागका काम गरिसकेका डा. दीपकप्रकास बास्तोला, भिमबहादुर चन्द, निगमका पूर्व कर्मचारी चिरन्जीवि उपाध्याय छन् ।
यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका फ्लाइट अपरेसन म्यानेजर सन्तुष्ट कुमार बस्नेत, उड्डयन प्राधिकरणका पूर्व कर्मचारी रघुनाथ विडारी, हवाई व्यवस्थापनमा काम गरेका आशिष थापा, इन्जिनियर अभिनव कार्की, काठमाडौं र धनगढीमा हवाई संग्रहालय सञ्चालन गरिरहेका क्याप्टेन वेदप्रसाद उप्रेती, क्यानका पूर्व कर्मचारी विष्णुबाबु मिश्रको आवेदन परेको छ ।
छनोट समितिले आवदेकहरुमध्येबाट तोकिएको शर्त पालना गरेहरुलाईलाई सर्ट लिष्ट गर्ने र कार्यपत्र प्रस्तुतीसहित अन्तरवार्ताको प्रक्रिया पूरा गरेर उपयुक्तमध्ये तीन जनाको नाम सिफारिश गर्ने छ । यो समितिले सिफारिस गरेकामध्येबाट एक जनालाई सरकारले निगमको आगामी ४ वर्षका लागि कार्यकारी प्रमुख अर्थात महाप्रवन्धक पदमा नियुक्त गर्ने छ ।
सरकारले १५ दिनको समय राखेर निगमको महाप्रबन्धकमा २७ कात्तिकमा दरखास्त आह्वान गरेको थियो । सरकारले खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्दैछ । अब छनोट प्रक्रिया नेवानि महाप्रबन्धक छनोट सम्बन्धी कार्यविधि २०८२ बमोजिम सुरु हुने मन्त्रालयले जनाएको छ ।

