काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन् । अधिकारीले मन्त्री पाण्डेसमक्ष २९ पृष्ठ लामो स्पष्टीकरण बुझाएका हुन् ।
निगम अध्यक्ष अधिकारीले मन्त्रालयले सोधेको ११ बुँदे स्पष्टीकरण सबै बुँदामा जवाफ दिएका छन् । मन्त्री पाण्डेले अधिकारीलाई गत भदौ १२ मा निगमका जहाज ग्राउण्डेड भएको, निजी कम्पनीहरू नाफामा चल्दा सरकारी स्वामित्वको नेपाल एयरलाइन्स धराशायी भएको, नियमित उडान गराउन नसकेको, सी चेक नगरी उडाएको लगायत प्रश्न गर्दै स्पष्टीकरण सोधेका थिए ।
अधिकारीले बुझाइएको स्पष्टीकरणमा नियामक निकायको असहयोग र पर्यटन मन्त्रालयसमक्ष समन्वय कमजोर भएको गुनासो गरेका छन् । जवाफमा अधिकारीले नेपाल एयरलाइन्स घाटामा जानुको मुख्य कारण कोरोना महामारी, महँगो ब्याजदर र चिनियाँ जहाज भएको बताएका छन् ।
निगमले अन्तर्राष्ट्रिय सुविधा सम्पन्न वायुसेवासँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता रहेको, तर खरिद प्रक्रिया सो स्तरको नभएकाले निगम प्रतिस्पर्धी बजारमा कमजोर रहेको जवाफमा उल्लेख छ ।

