२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • जहाज ‘ग्राउन्डेड’ भएपछि टरिगाउँमा शुक्रबार मात्र...

जहाज ‘ग्राउन्डेड’ भएपछि टरिगाउँमा शुक्रबार मात्र उडान

जहाज ‘ग्राउन्डेड’ भएपछि टरिगाउँमा शुक्रबार मात्र उडान

सीएनएन खबर
सोमवार, भाद्र २४ २०८१०८:३१
सीएनएन खबर
सोमवार, भाद्र २४ २०८१०८:३१
  • images

    काठमाडौँ । नेपाल वायुसेवा निगमले तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा प्रत्येक शुक्रबार मात्र उडान भर्ने भएको छ । गत हप्तादेखि प्रत्येक शुक्रबार मात्र उडान गरिएको निगमका दाङ प्रमुख बलबहादुर सुनारले बताए ।

    निगमको एउटा जहाज ‘ग्राउन्डेड’ भएकाले शुक्रबारमात्र उडान भर्ने नीति लिएको उनले जानकारी दिए । “हप्तामा सात दिन चलाउने कुरा हो, तर अहिले निगमसँग एउटा मात्र जहाज छ, एउटा जहाज ग्राउन्डेड छ”, उनले भने, “त्यसले गर्दा पनि अहिले केही समय हप्ताको शुक्रबार मात्र चलाउने कुरा छ ।”

    अहिले प्रत्येक शुक्रबार दिउँसो १२ः०० बजे टरिगाउँ आउने र १२ः२० मा फर्किने गरेको छ । हाल दाङबाट काठमाडौँ जाँदा सात  हजार एक सय रुपैयाँ भाडा लाग्छ भने काठमाडौँबाट दाङ आउँदा सात हजार दुई सय ५० रुपैयाँ भाडा लाग्ने गरेको छ । अहिले दाङबाट काठमाडौँ जानका लागि यात्री नपाउने अवस्था रहेको छ । जहाज नियमित नहुँदा पनि यात्री भैरहवा वा नेपालगञ्ज जाने गरेको भन्दै नियमित भएमा यो समस्या नहुँने उनको भनाइ छ ।

    यसअघिको शुक्रबार दाङबाट काठमाडौँ जाँदा एकजना मात्र यात्री थिए । टरिगाउँ विमानस्थलमा पछिल्लो समय जहाज सेवा अनियमित भएको थियो । केही महिना जहाज नै आएन, तर अब त्यसो नहुने प्रमुख सुनारले बताए ।

    उक्त विमानस्थलाई नियमित बनाउन पटक–पटक आवाज उठ्ने गरेको छ । तर पनि नियमित हुनसकेको छैन । उक्त विमानस्थल २०११ सालमा स्थापना भएको हो । सात सय ५० मिटर लम्बाइ रहेको धावनमार्ग हुँदा अहिले १९ सिटे जहाज मात्र बस्ने गरेका छन् । यसलाई बढाएर एक हजार पाँच सय मिटर बनाउन सकिएमा ७२ सिट जहाज बस्ने र सेवा नियमित हुने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend