काठमाडौँ । जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ । लेखकले समाचार माध्यमबाट जानकारी पाएपनि आधिकारीक रुपमा आफूलाई आयोगको पत्र प्राप्त नभइसकेको जनाएका छन् ।
उनले पत्र पाएपछि बयानका लागि जाने नजाने विषयमा निर्णय गर्ने बताउँदै पत्र नआउँदासम्म केही भन्न नसक्ने बताए ।
जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले मंगलबार लेखकलाई बयानमा उपस्थित हुन आग्रह गर्दै पत्र लेखेको छ । आयोगका अध्यक्ष तथा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले लेखकलाई बयानका लागि उपस्थित हुन आग्रहसहित पत्र लेखिएको जानकारी दिए ।
भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए । जेनजी आन्दोलनकोक्रममा भएको मानवीय क्षतिमा लेखक गृहमन्त्री भएकाले जवाफदेही हुनुपर्ने आवाज उठिरहेको छ ।
त्यस्तै तत्कालीन प्रधानमन्त्रीको हैसियतमा केपी शर्मा ओलीलाई पनि बयानमा बोलाउने तयारी गरेको तर अहिलेसम्म पत्र नकाटिएको अध्यक्ष कार्कीले जानकारी दिए ।

