काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका लागि अझै पनि ढुक्क भएर लगानी गर्न सक्ने वातावरण नबनेको बताएका छन्। देशको अर्थतन्त्र उकास्ने उद्देश्यले महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा उनले निजी क्षेत्रले निर्बाध रूपमा काम गर्न पाउने ग्यारेन्टी अझै सुनिश्चित हुन नसकेको उल्लेख गरे।
अध्यक्ष ढकालका अनुसार मुलुक निर्वाचनको दिशातर्फ उन्मुख हुनु सकारात्मक संकेत भए पनि निजी क्षेत्रको संरक्षण र प्रोत्साहनका विषय भने अझै ओझेलमा परेका छन्। “चुनावी वातावरण लोकतन्त्रप्रतिको वर्तमान सरकारको समर्पणको उदाहरण हो,” उनले भने, “तर समृद्धिका लागि निजी क्षेत्रको संरक्षण र लगानीमैत्री वातावरणको अभाव अझै पनि देखिन्छ।”
उनले गलत काम गर्नेहरूमाथि समयमै कारबाही नहुँदा दण्डहीनता बढ्ने खतरा रहेकोतर्फ पनि ध्यानाकर्षण गराए। उद्यमी तथा उद्यमशीलताको विकासका लागि सहज नीतिगत व्यवस्था, निजी क्षेत्रको सम्मान, निर्बाध पेसा–व्यवसाय गर्न पाउने सुनिश्चितता र सम्पत्तिको सुरक्षा महसुस नभएसम्म लगानीको वातावरण नबन्ने उनको भनाइ छ।
“लगानी बिना रोजगारी सिर्जना हुँदैन र रोजगारी नहुँदा आयस्तरमा सुधार आउँदैन,” अध्यक्ष ढकालले भने, “आयस्तर नबढेसम्म मानव विकासमा अपेक्षित सुधार सम्भव हुँदैन।” शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउन राजस्व वृद्धि आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि निजी क्षेत्रलाई काम गर्न सहज वातावरण र प्रोत्साहनमुखी नीति अपरिहार्य रहेको जोड दिए।
अध्यक्ष ढकालले समग्र अर्थतन्त्रको सुदृढीकरणका लागि सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउँदै लगानीमैत्री नीति र स्थायित्वले मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिने स्पष्ट पारे।

