वीरगञ्ज । धनुषाको कमला नगरपालिकामा मस्जिदमा तोडफोड र कुरान जलाइएको घटनाको विरोधमा आइतबार वीरगञ्जमा भएको प्रदर्शन उग्र बनेपछि प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार गरेको छ।
मुस्लिम समुदायले टायर बालेर प्रदर्शन गर्दा प्रहरीमाथि ढुङ्गामुढा र छपकैया प्रहरी बिटमा तोडफोड भएपछि स्थिति तनावपूर्ण बनेको थियो। भीड नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिएको पर्सा प्रहरीका डीएसपी राजु कार्कीले जानकारी दिए। हाल अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
उक्त घटना शनिबार धनुषाको कमला नगरपालिका–६ सखुवा मरानस्थित मस्जिदमा भएको थियो। सामाजिक सञ्जालमा पोस्ट भएको एक भिडियोपछि उत्पन्न विवादका बीच केही युवाले मस्जिदमा आक्रमण गरेको प्रहरीले जनाएको छ। घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै प्रदर्शन भएको हो।

