काठमाडौँ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–६ थिमिमा एक व्यक्तिले राइफलबाट आफैँलाई गोली हानेर ज्यान गुमाएका छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार मंगलबार ४० वर्षीय सनिप चाम्लिङ राईले आफ्नै घरको कोठाभित्र आफैँलाई गोली प्रहार गरेका थिए। गम्भीर घाइते भएका राईको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार राईले ब्रिटिस आर्मीबाट अवकाश प्राप्त आफ्नै भिनाजुको नाममा रहेको राइफल प्रयोग गरी आत्मघाती कदम चालेको प्रारम्भिक निष्कर्ष छ।
घरको कोठाबाट गोली चलेको आवाज सुनेपछि परिवारका सदस्यले घटनाबारे थाहा पाएर प्रहरीलाई खबर गरेका थिए।घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान तथा मुचुल्का प्रक्रिया पूरा गरेको छ।
घटनाको कारण र राइफल प्रयोगसम्बन्धी थप तथ्य पत्ता लगाउन विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।

