काठमाडौं । कर्जा प्रवाह अपेक्षित रूपमा हुन नसकेपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन रणनीतिमा परिवर्तन गर्दै १० वर्षपछि पुनः नियमित रूपमा ऋणपत्र निष्काशन गर्न थालेको छ। बैंक तथा वित्तीय संस्थाहरूमा अत्यधिक तरलता जम्मा भएपछि केन्द्रीय बैंकले छोटो अवधिका मौद्रिक औजार छोड्दै दीर्घकालीन तरलता प्रशोचनको उपाय अवलम्बन गरेको हो।
राष्ट्र बैंकले पछिल्लो १५ दिनमा ८ पटक गरी १ खर्ब ८० अर्ब रुपैयाँ बराबरको एक वर्षे ऋणपत्र निष्काशन गरिसकेको छ। सोमबार २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गरेको बैंकले मंगलबार पुनः २० अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गरेको हो।
चालू आर्थिक वर्षको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरूको संरचनागत तरलता व्यवस्थापन गर्न २ खर्ब रुपैयाँसम्मको ऋणपत्र जारी गर्न सक्ने व्यवस्था गरिएको थियो। सोही व्यवस्थाअनुसार हालसम्म १ खर्ब ८० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन भइसकेको छ भने अब २० अर्ब रुपैयाँको कोटा मात्र बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरुप्रसाद पौडेलले तरलता अधिकको अवस्था लामो समयसम्म कायम रहन सक्ने देखिएपछि दीर्घकालीन तरलता प्रशोचनको उपाय अपनाइएको बताए। उनका अनुसार यसअघि स्थायी निक्षेप सुविधा र निक्षेप संकलनमार्फत तरलता व्यवस्थापन हुँदै आएकोमा अब एक वर्षे ऋणपत्रलाई प्राथमिकता दिइएको हो।
उनले ऋणपत्र निष्काशनलाई अन्य क्षेत्रमा लगानी विस्तारका रूपमा बुझ्न नहुने स्पष्ट पारे। “यो विशुद्ध तरलता व्यवस्थापनको उपाय हो,” उनले भने। राष्ट्र बैंकले पुस १३ गते २० अर्ब रुपैयाँको निक्षेप संकलन गरेपछि पुस १४ गतेदेखि निक्षेप संकलन रोकी ऋणपत्र निष्काशन सुरु गरेको हो। पुस १४, १६, २०, २२ र २८ गते २५ अर्ब रुपैयाँका दरले ऋणपत्र निष्काशन गरिएको छ भने पुस २३ र २९ गते २० अर्ब र पुस २४ गते १० अर्ब रुपैयाँको ऋणपत्र जारी गरिएको थियो।
आठ पटकको ऋणपत्र निष्काशनमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट १ खर्ब ५५ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा झण्डै ४ खर्ब रुपैयाँ बराबरको आवेदन परेको थियो। बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम २.६४ प्रतिशत ब्याजदरमा एक वर्षका लागि ३ खर्ब ८८ अर्ब रुपैयाँ लगानी गर्न इच्छा देखाएका थिए।
नेपाल राष्ट्र बैंकले यसअघि आर्थिक वर्ष २०५३/५४ र २०७१/७२ मा मात्र यस प्रकारको ऋणपत्र निष्काशन गरेको थियो। त्यसपछि लामो समय रोकिएको ऋणपत्र पुसयता पुनः नियमित रूपमा जारी हुन थालेको हो।
गएको दुई वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरू अत्यधिक तरलताको समस्यामा छन्। हाल बैंकहरूसँग करिब १२ खर्ब रुपैयाँ बराबरको लगानीयोग्य तरल सम्पत्ति रहेको छ। अर्थतन्त्र चलायमान हुन नसक्दा कर्जा प्रवाह सुस्त बनेको र निक्षेप बढ्दै गएको अवस्था देखिएको छ।
पछिल्लो पाँच महिनामा राष्ट्र बैंकले न्यूनतम २.४७ प्रतिशत ब्याजदरमा ४० पटक निक्षेप संकलनमार्फत १८ खर्ब ६० अर्ब रुपैयाँ र स्थायी निक्षेप सुविधामार्फत ६७ पटक गरी २ खर्ब ६२ अर्ब रुपैयाँभन्दा बढी रकम प्रशोचन गरिसकेको छ।
छोटो अवधिको तरलता प्रशोचन पर्याप्त नदेखिएपछि राष्ट्र बैंकले पुस १४ गतेबाट दीर्घकालीन रणनीतिअन्तर्गत एक वर्षे ऋणपत्र निष्काशन सुरु गरेको हो। यसअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूलाई २.६४ देखि २.७१ प्रतिशतसम्म ब्याज भुक्तानी गरिनेछ।

