काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचनको उत्साहपूर्ण माहोलमा आफू पूर्ण रूपमा मिसिन नसकेको भन्दै सार्वजनिक गुनासो गरेका छन्। देशभर उम्मेदवारी मनोनयनको चहलपहल चलिरहँदा उनीविरुद्धको सहकारी ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा पर्सा, काठमाडौं र रूपन्देहीका अदालतमा एकसाथ सुनुवाइमा रहेका कारण मानसिक र व्यावहारिक दबाबमा परेको उनले बताएका छन्। यसैक्रममा पर्सा जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ।
लामिछानेले चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने तयारी गरे पनि अदालतको व्यस्तताका कारण आफैं उपस्थित हुन नसक्ने अवस्था आए वारेसमार्फत मनोनयन दर्ता गरिने बताएका छन्। उनले यसअघि पनि सोही क्षेत्रबाट निर्वाचन जितेका थिए भने नागरिकता प्रकरणपछि भएको उपनिर्वाचनमा पुनः विजयी भएका थिए। तर, सम्पत्ति शुद्धीकरण मुद्दाका कारण दोस्रो पटक पद गुमाउनु परेको थियो।
सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति दिँदै लामिछानेले आफूविरुद्ध प्रमाणविहीन मुद्दा लगाइएको दाबी गरेका छन्। उनले अदालतमा भइरहेको कारबाहीलाई ‘अत्याचार’को संज्ञा दिँदै यसको राजनीतिक जवाफ जनताले फागुन २१ गते निर्वाचनमार्फत दिने विश्वास व्यक्त गरेका छन्। आफूलाई “अभिमन्यू होइन” भन्दै लामिछानेले संघर्षबाट नभाग्ने र बिना प्रतिशोध हिसाब–किताब चुकाउने संकेत गरेका छन्।

