काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको प्रयोग गर्न नपाइने स्पष्ट गरेको छ । आयोगका अनुसार राजनीतिक दल तथा उम्मेदवारले घरदैलो, जुलुस, आमसभा, कोणसभा, र्याली तथा सभा–सम्मेलनजस्ता कुनै पनि प्रचार गतिविधिमा राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने छैनन् ।
आयोगले जारी गरेको निर्देशनअनुसार दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा दशभन्दा बढी झण्डा प्रयोग गर्नसमेत निषेध गरिएको छ । निर्वाचनलाई मर्यादित र निष्पक्ष बनाउन यस्तो व्यवस्था गरिएको आयोगको भनाइ छ ।
पछिल्लो समय निर्वाचनको मिति नजिकिँदै जाँदा केही उम्मेदवारले घरदैलो कार्यक्रम तथा सभा–सम्मेलनमा राष्ट्रिय झण्डा प्रयोग गर्दै मत माग्न थालेपछि यसको सार्वजनिक रूपमा विरोध हुन थालेको थियो । राष्ट्रिय झण्डाको गरिमामाथि आँच आउने भन्दै नागरिक समाज तथा विभिन्न क्षेत्रबाट आलोचना बढेपछि आयोगले स्पष्ट निर्देशन जारी गरेको हो ।
निर्वाचन आयोगले राष्ट्रिय झण्डा सबै नेपालीको साझा पहिचान भएकाले यसलाई कुनै दल वा उम्मेदवारको प्रचारको साधनका रूपमा प्रयोग नगर्न आग्रह गरेको छ । निर्देशन उल्लंघन गरे कानुनअनुसार कारबाही हुने चेतावनी पनि आयोगले दिएको छ ।

