काठमाडौँ । सरकारले सरुवा रोगको केन्द्रीय अस्पतालको रुपमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई राखेको छ । हाल १ सय बेडमा सञ्चालित उक्त अस्पतालको सेवा सुविधा थप गरेर सरकारले ३ सय बेडको सरुवा रोग अस्पताल बनाउने तयारी थालेको छ । सरुवा रोग अस्पतालको अहिलेको अवस्था, नयाँ कार्यक्रम लगायत समग्र अस्पतालको सेवामा केन्द्रीत भएर अस्पतालका निर्देशक डा. युवानिधी बसौलासँग सीएनएन खबरका निराजन अधिकारीले गरेको कुराकानीको संपादीत अंश ।
कुकुरले टोकेको उपचारदेखि विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको उचित उपचार व्यवस्था गरी जनमानशमा राम्रो शन्देश दिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले के कस्तो सेवाहरु प्रवाह हुन्छ ?
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वि.सं १९९० सालमा स्थापना भएको हो । ९० वर्षको इतिहास अस्पतालको छ । नेपालको सरकारी अस्पतालमध्ये यो पुरानो अस्पताल पनि हो । यो अस्पताल सुरुमा स्थापना गर्दा नेपालमा हैजा फैलिएको थियो । हैजाको उपचार गर्ने गरी आजभन्दा ९० वर्षअगाडी कलेरा अस्पतालको रुपमा स्थापना गरिएको हो । २०५३ सालमा कलेरा अस्पतालबाट शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल नामाकरण भएको हो ।
यो अस्पतालले विगतमा पनि सरुवा रोग सम्बन्धी धेरै सेवाहरु दिएको थियो । कोरोना महामारीको बेलामा यसले राज्यलाई अतुलनीय सेवा प्रदान गरेर धैरेको ज्यान जोगाएको इतिहास छ । हाल अस्पताल १ सय बेडमा स्तरोन्नती भएको छ । हामीले ३ सय बेड क्षमताको बनाउने भनेर डीपीआर तयार बनाएर टेन्डर आह्वान गरेका थियौँ । दुई पटकसम्म बोलपत्र आह्वान गरिसकेका छाैँ तर, दुबै पटक रद्द भएपछि अहिले तेस्रो पटक बोलपत्र आह्वान गरिएको छ ।
अत्याधुनिक सेवाहरु थप गरेर केन्द्रीय सरुवा अस्पतालको रुपमा बनाउने भन्ने योजना छ । अहिले पनि अस्पताल केन्द्रीय अस्पतालकै रुपमा १ सय बेडमा सञ्चालित छ । अब अन्य सेवाहरु थप गरेर ३ सय बेडमा बनाउने भन्ने योजना हो । अस्पतालले मुख्यतय सरुवा रोग तथा ट्रपिकल सेवाहरु दिने हो । त्यसका अलवा सुगर प्रेसर लगायतका सेवाहरु हामीले प्रदान गर्दै आइरहेका छाैँ । अहिले अस्पतालले ओपिडीमा ४ वटा सेवाहरु प्रदान गर्दै आएको छ । जेनेरल मेडिसिन तथा ट्रपिकल मेडिसिन, बालरोग, हाडजोर्नी तथा छाला (चर्मरोग) को सेवाहरु प्रदान गर्दै आइरहेका छाैँ । यसको अतिरिक्त कुकुरले टोकेको ओपिडी २४ सैँँ घण्टा, एचआईभी तथा एडसको भ्याक्सीनेशन २४ सै घण्टा सञ्चालित छ । फार्मेसी सेवा, ल्याव, एक्सरे तथा सिटि इस्क्यान सेवाहरु २४ सै घण्टा सञ्चालनमा छन् ।
डेंगु, मलेसिरा, झाडापखाला जस्ता मौसमका कारणले आइपर्ने रोगहरुले धेरै जिल्लामा ब्यापक रुपमा फैलन थालेको छ । नरैनापुरमा झाडापखाला र चितवनमा डेंगुबाट गरी ५ जनाले ज्यान गुमाइसकेका छन् । यसको न्यूनिकरणका लागि के गर्दै आउनुभएको छ, अहिले कति बिरामी अस्पतालमा उपचाररत छन् ?
खासगरी बर्खाको सिजनमा महामारी तथा झाडापखालाहरु फैलने गरेको छ । अहिलेको वर्ष पनि ललितपुरमा केही दिन अघि एउटा पुनस्थापना केन्द्रमा हैजा फैलिएको थियो । ६४ जनामध्ये हामीले ३५ जनाभन्दा बढीलाई यही राखेर उपचार गरेर घर पठाइसकेका छाैँ । अहिलेपनि ४३ जनाभन्दा बढी हैजा र डेंगुका बिरामीहरु उपचाररत हुनुहुन्छ ।
पानी पर्दा हैजाका बिरामीहरु बढ्ने र घाम लाग्दा घट्ने गरेको तथ्याकंले देखाएको छ । मुख्यतया हामीले अस्पतालमा आएका केशलाई म्यानेजमेन्ट गरेर उपचार गर्दै आएका छाैँ। कोभिडजस्तै मक्किपक्स नेपालमा पनि देखिएको छ । भलै अहिले महामारीको रुप लिएको छैन, तर विश्वभरनै आंतकीत बनाइसकेकाे रोग हो ।
अन्य देशमा जस्तै प्यान्डामिक अवस्था नेपालमा देखापर्याे भने रोकथामका लागि के रणनीति तयार गर्नुभएको छ ?
मक्किपक्स जनावरबाट मानिसमा सर्ने रोग हो । यदि नेपालमा यो रोग देखा परिहाल्यो भने त्यसको कसरी उपचार गर्ने भनेर हामी तयारी अवस्थामा छाैँ । छिमेकी देशमा यो रोग फैलिएको छ । गत वर्ष पनि हामीले एक जना विदेशीमा देखा परेपछि उपचार गरेर पठाएका थियौँ । यदि संक्रमण फैलिहाल्यो भने हामी तयारी अवस्थामा बसेका छौँ । यसका लागि अस्पतालले फोकल पर्शनका रुपमा डाक्टरलाई जिम्मेवारी नै दिइसकेको छ । अस्पतालमा कार्यरत डाक्टर शिवेन्द्र झालाई हामीले फोकल पर्शन तोकका छौँ । उहाँसँगै वेडपनि तयारी अवस्थामा छ । यसको खासै औषधी छैन् । अरुलाइ सर्न नदिई छुट्टै राखेर उपचार गर्न हामी तयारी अवस्थामा छौँ ।
आपतकालीन रोगहरु देखा परिसकेको खण्डमा त्यसको चेकजाँच गर्नलाई हाम्रो जनशक्तिको अवस्था कस्तो छ । नयाँ प्रविधिका अत्यावश्यक उपकरणहरु हामीसँग छन् त ?
हामीसँग सिमित स्रोत र जनशक्ति छ । विस २०५० सालको जनशक्तिबाट नै अहिले हामीले काम गरिरहेका छाैँ । नेपाल सरकारको दरबन्दी हेर्दा विभिन्न पदका लागि १६७ जनाको स्थानीय दरबन्दी छ भने विकास समितिको २६ दरबन्दी छ । त्यसले नपुगेर हामीले ७१ जना नयाँ कर्मचारी थप गरेर सेवा प्रवाह गर्दै आएका छाैँ ।
यदी महामारी फैलियो भने हामीसँग कर्मचारी अभाव हुन्छ । भएका कर्मचारी संक्रमितको जोखिम हुनसक्ने भएका कारण हामीले केही कर्मचारीलाई तयारी अवस्थामा राख्नुपर्ने अवस्था छ । हामीसँग पर्याप्त जनशक्ति, स्रोतसाधनसँगै आर्थिक अवस्था पनि कमजोर छ ।
हाल अस्पतालले करारमा विज्ञ डाक्टरहरु नियुक्त गर्ने गरेको छ । यसले आपतकालीन अवस्थामा उपयुक्त सेवा दिन सक्छ ?
हाम्रो अस्पतालमा ट्रपिकल मेडिसिन डाक्टरको जनशक्ति छ । तर, दरबन्दी अनुसारको जनशक्ति अहिलेसम्म हामीले पाएका छैनाैँ। ३ जना विशेषज्ञ खाली छ । अन्य सेवामा पनि विशेषज्ञ डाक्टरहरु खाली नै हुनुहुन्छ । जेनरल मेडिसिनको हामीसँग फिजिसेनहरु हुनुुहुन्छ । हामीले करारका रुपमा डाक्टरमात्र नियुक्त गर्ने हो विशेषज्ञ डाक्टर राख्न सक्दौनाैँ । हाम्रो ऐन नियमले पनि दिदैँन आवश्यक पर्याे भने मन्त्रालयबाट लिनुपर्ने अवस्था छ ।
सरुवा रोग, महामारी जस्ता विषय सेन्सेटीभ विषय हुन् । यस्ता विषयमा आपतकालीन सेवा दिनका लागि जनशक्ति, स्रोत साधन, बजेट, भौतिक पूर्वाधार लगायतका कुरामा सरकारी सहयोग कस्तो पाउनुभएको छ ?
अहिलेको अवस्थामा हामीसँग भएका जनशक्तिका लागि बजेट पर्याप्त नै छ भन्नुपर्छ । अहिले भैराखेको स्रोत र साधन सञ्चालन गर्ने भनेर हामीले बजेट विनियोजन गरेका छौँ । अहिले महामारी नफैलिएको स्थीतिमा छुट्टाएको बजेटले पुग्छ । यदि महामारि फैलियो भने भैपरिका लागि निश्चित रकम राखेका छाैँ । त्यतिले चाँही पुग्दैन, नपुग हुँदा मन्त्रालयसँग समन्वय गरेर हामीले थप माग्ने गरेका छौँ ।
भवन निर्माणका लागि गत आर्थिक वर्ष २०७७/०७८ मा डिपीआर तयार भएर सहरी विकास मन्त्रालयले टेन्डर आह्वान गरेको थियो । मन्त्रालयले टेन्डर गर्दा एउटा फर्म कालोसूचीमा परेको रैछ । कालोसूचीमा भएका कारण टेन्डरमा समावेश हुन सकेन । पुन टेन्डर गर्दा केही समय लाग्यो । बजेटमा बहुवर्षिय कार्यक्रम स्वीकृत भएको छैन । कार्यक्रम स्वीकृत भएको तर बजेट स्वीकृत नहुँदा निर्माणको काम सुरुवात गर्न कठिनाई भयो । गत वर्ष पनि रकम थियो । तर, बहुबर्षियका लागि नहुँदा रोकियो । अहिले बहुवर्षिय योजनाका लागि बजेट स्वीकृति भएपछि मात्र काम गर्ने भनेर अड्किएको हो ।
सेवा प्रवाहमा देखिएका समस्या तथा चुनौतीकहरु के कस्ता छन् । त्यससँगै अस्पतालमा भएका सुधारका प्रयासहरु के के हुन् ?
अस्पतालमा बिरामीहरुको धेरै भिडभाड हुने गरेको थियो । हामीले त्यसलाई व्यवस्थित बनाउन अहिले टोकनको व्यवस्था गरेका छाैँ। लाइनमा बस्ने व्यवस्थालाई घटाएर कुपन सिष्टम लागु गरेका हाैँ । पहिलाको तुलनामा अस्पतालमा हुने लामा लाइन केही हदसम्म कम भएको छ । लाइनलाई कम बनाउनै हामीले छुट्टै काउन्टर विस्तार गरेका छाैँ । यसअघि २ वटा काउन्टरबाट सेवा प्रवाह हुने गरेकोमा २ वटा थप गरेर ४ वटा काउन्टर सुचारु गरेका छाैँ । यस्तै भविश्यमा अनलाईन मार्फत टिकट काट्न सक्ने व्यवस्था सुरु गर्न लागेका छाैैँ । अबको केही दिनमा नै उक्त सेवा सुचारु गर्न सकिन्छ भन्ने हाम्रो अनुमान हो ।
म अस्पतालमा आउनुभन्दा अगाडी फार्मेसी सेवा २४ घण्टा थिएन । दिउँसो एउटा सिफ्ट मात्रै थियो । म आएपछि विस्तार गरेर अहिले २४ सै घण्टा सुचारु गरेको छु । सामाजिक सेवा इकाइ मार्फत विपन्न गरिब, अशक्त तथा जेष्ठ नागरिकलाई निशुल्क सेवा दिएका छौँ । स्वास्थ्य बीमाका कार्यक्रम अस्पतालमा सञ्चालन गरेका छाैँ । यस्तै, ल्याब, रेडियोग्राफी सेवा २४ सै घण्टा सुचारु गरेका छाैँ भने ओपिडी सेवा हामीले गत साउनदेखि दुई सिफ्टमा सुचारु गरेका थियाैँ ।
बिहान साढे ८ बजेदेखि साढे १ बजेसम्म एउटा सिफ्ट र अर्काे सिफ्ट साढे २ बजेदेखि ४ बजेसम्म गरेर दुई सिफट्मा ओपीडी सेवा सुचारु गरेका छाैँ । दैनिक ३ सयदेखि ४ सयजनासम्म कुकुरले टोकेका बिरामी अस्पतालमा आउने गर्नुभएको छ । नयाँ र फलोअपका लागि आउनेहरु बढ्दो क्रममा छ । तर पहिलाको तुलनामा अहिले देशैभर भ्याक्सीनहरु पुगेका कारण केही सहज भने भएको छ ।
अहिले सर्पले टोकेका बिरामीहरु धेरै आउँने गरेका छन् । सर्पसँगै डेंगु, एड्स लगायतका बिरामीहरु आउने गर्नुहुन्छ । जुनसुकै अस्पतालले सरुवा रोगका लागि टेकु अस्पतालमा रिर्फर गर्नुहुन्छ, त्यहीँ भएका कारण पनि अस्पतालमा भिड भएको हो । अहिले हामीसँग जनशक्तिको अभाव छ । पुरानो भौतिक संरचनामा काम गर्नुपर्दा धेरै अप्ठ्यारो भएको छ । स्रोत साधन समिति छ, यसमै हामी चल्नुपर्ने बाध्यता छ । हामीले ओएनएम सर्भेका लागि मन्त्रालयसँग स्वीकृत मागेको ५ वर्ष भयो अहिलेसम्म स्वीकृति पाएको छैन । नयाँ भवनका लागि कुरा उठेको अहिलेसम्म पूरा हुन सकेको छैन् ।
एचआइभी एड्ससँग सम्बन्धी सचेतनाका कार्यक्रमहरु न्यून सञ्चालन हुन थालेको हो ?
नेपालमा सुरुवाती चरणमा एचआईभी एड्सका बिरामीहरु धेरै थिए । अहिले नेपालमा घट्टो क्रममा रहेको पाइएको छ । नेपालभर ३० हजारको हाराहारीमा एचआईभी एड्सका संक्रमितहरु रहेको भनिएको छ । त्यो मध्ये २४ हजार डाइलासिस गरेर नियमित रुपमा औषधी खाइरहनुभएको छ । एचआईभी एड्सको उपचार गर्ने टेकु अस्पताल पहिलो सेन्टर हो ।
नेपालमा सन् २००८ सालबाट एचआईभी एड्सको औषधी वितरण सुरु भएको थियो । अहिले पनि दैनिक साढे २३ सय बिरामीले नियमित रुपमा औषधी खाइरहनुभएको छ । यसको सेन्टर अन्यत्र रहेका कारण पनि यहाँ आउने बिरामीहरु कम हुनुभएको हो ।सेन्टर नजिकका बिरामीहरु यहाँ आउनुहुँदैन् । केही बिरामी विदेशको औषधिी समेत खाने हुनुहुन्छ । नजिकका सेन्टरमा जादा अरुले थाहा पाउँछन् भनेर पनि धेरै बिरामीहरु टाढा टाढा जाने गरेको पाइएको छ । यहाँ एचआईभीका बिरामीहरु आउने क्रम कम भएको यहाँका बिरामीहरु अन्यत्र गएर हुनसक्ने हाम्रो अनुमान हो । उपचार नै गर्नुपर्ने बिरामीहरु यहाँ आउने गुर्नुहुन्छ ।
अन्त्यमा अस्पतालको आगामी रणनीति के छ ?
अस्पतालले २४ सै घण्टा सेवा दिन पर्याे । हामी २४ सै घण्टा सेवा दिन्छौँ, त्यसका लागि सम्बन्धीत रोगको विशेषज्ञ सहितको सेवा हुनुपर्याे । सम्पूर्ण सेवाहरु एउटै केन्द्रबाट हुनुपर्ने हो । हामीसँग जनशक्तिसँगै उपकरण नहुँदा हामीले अन्यत्र पठाउनुपर्ने अवस्था छ ।
हामीले छाला तथा यौनरोग क्लिनिक यहाँ सञ्चालन गर्ने तयारी गरेका छौँ । एचआईभी एड्सको हामीले उपचार गर्दै आएका छौँ । अहिले कोरिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणको इपीइस सेवा यही छ । उनीहरुको स्वास्थ्य परीक्षण गर्दा भिरिङगि लगायतका छाला तथा यौनजन्य रोग देखिएको छ । त्यसका लागि छुट्टै क्लिनिक सुरु गर्ने कि भन्ने हो । अहिले हामीसँग भौतिक संरचना विस्तार गर्न ठाउँ अभाव छ । नयाँ भवन बनाउन सकियो भने भविष्यमा धेरै सेवाहरु दिन सकिन्छ नत्र यही संरचनामा यही जनशक्तिमा सम्भव छैन् । अहिले हामी भएका सेवालाई कसरी गुणस्तरीय बनाउन सकिन्छ भन्नेतर्फ मात्र हाम्रो ध्यान केन्द्रीत छ । हाम्रो क्षमता हुँदा हुँदै पनि हामीले चाहेर पनि सेवा विस्तार गर्न सकेका छैनाैँ ।

