काठमाडौँ । सुनसरी–१ का प्रतिनिधिसभा उम्मेदवार तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरिएको आरोप लगाउँदै उजुरी दर्ता गरिएको हो । धरान नगर बाल सञ्जालले साम्पाङविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरी र निर्वाचन अधिकृतको कार्यालयमा छुट्टाछुट्टै उजुरी दिएको जनाएको छ ।
उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद–२, दफा–७ को उपदफा ९९० अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था रहेको उल्लेख गरिएको छ । तर उक्त कानुनी व्यवस्थाविपरीत उम्मेदवार साम्पाङले बालबालिकालाई चुनावी गतिविधिमा प्रयोग गरेको दाबी सञ्जालको छ ।
बाल सञ्जालले साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित गराई घटनाबारे छलफल गर्न तथा निर्वाचन आचारसंहिता उल्लंघन गरेबापत कानुनअनुसार कारबाही गर्न माग गरेको छ । निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा उजुरी अध्ययन समिति गठन गरिएको छ । समितिले उजुरीको अध्ययनपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाउने उनले बताए ।
कानुनअनुसार बालबालिकाको राजनीतिक प्रयोग गरेको प्रमाणित भए एक लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने तथा गम्भीर अवस्थामा उम्मेदवारी नै खारेज हुन सक्ने व्यवस्था छ ।

