काठमाडौं । जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले जापानिज इन्सेफ्लाइटिसले अहिलेसम्म १४ जनाको मृत्यु भएको जानकारी दिए ।
डा.गौतमका अनुसार अहिलेसम्म ६१ जनालाई जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण देखिएको छ । ती सबैको नमूना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो । उनले भदौ १५ देखि असोज १५ सम्म जापानिज इन्सेफ्लाइटिस्को उच्च जोखिम रहेकाले सजकता अपनाउन आग्रह गरे ।
सामान्यता साउनदेखि कात्तिकसम्म जापानिज इन्सेफ्लाइटिस देखिन्छ तर जापानिज इन्सेफ्लाइटिस सार्ने पोथी प्रजातिको ‘क्युलेक्स’ लामखुट्टेले पानी जम्ने र फुल पार्ने भएकाले असोज १५ गतेसम्म जोखिम नै रहेको डा.गौतमको भनाइ रहेको छ ।
महिनामा धान खेतमा जम्मा हुने पानीमा ती प्रजातिका लामखुट्टेले फुल पार्ने र ती फुलबाट लामखुट्टेले सुँगुर र हाँसलाई टोकेर आफूमा सङ्क्रमण सार्दछन् र ती सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेपछि रोग सार्ने गर्दछ ।
‘क्युलेक्स’ लामखुट्टेले फोहर पानीमा फुल पार्ने गर्दछ । जापानिज इन्सेफ्लाइटिस् ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेले टोकेको ६ देखि १६ दिनसम्म लक्षण देखापर्ने डा गौतमले बताए । सरकारले सन् २०१६ देखि नै जन्मेको १२ महिनाका बालबालिकालाई जापानिज इन्सेफ्लाइटिस् विरुद्धको खोप दिँदै आएको छ ।

